Rumpum Advertisement

मनमोहन विश्वविद्यालयको पारामेडिकल भवनको शिलान्यास

मनमोहन विश्वविद्यालयको पारामेडिकल भवनको शिलान्यास

विराटनगर, ११ मंसिर । मनमोहन प्राविधिक विश्वविद्यालयकोे पारामेडिकल भवनको शिलान्यास गरिएको छ । प्रदेश १ सरकारले मोरङको बूढीगंगा गाउँपालिका–४ मा स्थापना गरेको मनमोहन विद्यालयको पारामेडिकल भवनको बिहीबार शिलान्यास गरिएको हो ।

आज विश्वविद्यालयका कुलपति तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सो भवनको शिलान्यास गरेका हुन् । शिलान्यासपछि मुख्यमन्त्री राईले मनमोहन विश्वविद्यालयको परिसरमै बन्ने सो भवनको निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयले मेडिकल संकायतर्फको विज्ञान प्रयोगशाला, पब्लिक हेल्थलगायतका विभिन्न प्रयोगात्मक विषयहरूको स्नातक र स्नातकोत्तर तहमा पठनपाठन गराउन भिन्नै पारामेडिकल भवन बनाउन लागेको हो ।

कुल १२ करोड ३१ लाख रुपैयाँमा निर्माण हुने चार तले भवनको विराटनगरको निर्माण कम्पनी पिएस जेभीले ठेक्का गरेको छ । दुई वर्षभित्रमा सम्पन्न गरिसक्ने सो कम्पनीले ठेक्का लिएको विश्वविद्यालयका प्रमुख डा. सुभाषश्री पोखरेलले जानकारी दिए ।

उनले आगामी आर्थिक वर्षको आसोजदेखि सिभिल इलेक्ट्रिसियन विषयको तहमा पानी जहाज र रेल्बे इन्जिनियरिङको पढाई सुचारु हुने जानकारी दिए ।

प्राविधिक विश्वविद्यालयका सहकुलपति तथा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आगामी शैक्षिक सत्रदेखि विभिन्न प्राविधिक विषयमा स्नातक र स्नातकोत्तर तहमा प्राविधिक विषयको पठनपाठन गराउनेगरी विश्वविद्यालयले आन्तरिक तयारी गरिरहेको जानकारी दिए ।