Rumpum Advertisement

भिडाललाई इन्टरले जरिवाना गर्नसक्ने

Neuro
भिडाललाई इन्टरले जरिवाना गर्नसक्ने

विराटनगर, ११ मंसिर । इटालियन क्लब इन्टर मिलानले आफ्ना मिडफिल्डर अर्टुरो भिडाललाई जरिवाना गर्नसक्ने देखिएको छ ।

इटालीको मिडिया ‘ला गजेट्टा डेल्लो स्पोर्ट्स’का अनुसार रियल मड्रिडसँगको खेलमा रातो कार्ड पाएका भिडाललाई क्लबले जरिवाना तिराउने सम्भावना छ ।

च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति आफ्नै मैदानमा भएको समूह चरणको खेलमा इन्टर रियलसँग पराजित भएको थियो । समूह चरणको चौथो खेलमा रियलले इन्टरमाथि २–० गोलको जित निकालेको हो ।

सान सिरोमा रियललाई जिताउन इडेन हाजार्डले एक गोल गरेका थिए । रियलले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । इन्टरका अच्राफ हाकिमीले आत्मघाती गोल गरेका थिए ।

सो खेलको ३३औं मिनेटमा इन्टरका भिडालले रातो कार्ड पाएपछि घरेलु टोली दस खेलाडीमा सीमित बन्न पुगेको थियो ।

डी एरियामा राफेल भरानेले सही ट्याकल गरे पनि पेनाल्टीको अपिल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए ।

खेलपछि इन्टरका प्रमुख प्रशिक्षक एन्टोनियो कोन्टेले रियलसँगको हारको कारणमध्ये एक भिडालको रातो कार्ड पनि भएको उल्लेख गरेका थिए ।

‘सुरुआतदेखि नै यो एउटा घमसान लडाइँ रह्यो’, उनले खेलपछि भनेका छन्, ‘जसमा हामी पछि पर्यौं । यो पहिलो पनि कठिन थियो, दोस्रो पनि कठिन रह्यो किनकि भिडालले मैदान छोडे । हामी महान टोलीसँग जित निकाल्न असमर्थ भयौं ।’

गजेट्टाको रिपोर्टअनुसार इन्टरले आफ्ना सहकर्मीलाई कठिन अवस्थामा पारेको भन्दै भिडाललाई जरिवाना तिराउने सम्भावना छ ।

पहिलो हाफमा नै दस खेलाडीमा सीमित हुनुपर्दा टोली कमजोर भएको निष्कर्षसहित इन्टरले उनलाई जरिवाना गर्नसक्ने देखिएको खबरमा उल्लेख छ ।