विराटनगर, ११ मंसिर । प्रदेश १ का तीनवटा मन्त्रालयले सञ्चालन गर्ने सीपमुलक तालिमलाई एकरुपता दिने भएका छन् ।
सीपमुलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरुपता दिनेगीि मन्त्रालयबीच छलफल सुरु भएको छ ।
बिहीबार सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबीच छलफल भएको हो ।
सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखाका शाखा अधिकृत प्रदीप गौतमले प्रदेशस्तरमा उद्यमशिलतासम्बन्धी तालिम सञ्चालन गर्दा दोहोरोपना आउने गरेकाले त्यसलाई हटाउनेगरी तीन वटा मन्त्रालयबीचमा छलफल गरिएको बताए ।
चालु आर्थिक बर्ष २०७७–०७८ मा तीन वटै मन्त्रालय, संघको सशर्त र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभीटी) ले तालिमका लागि करिब ३० करोड बजेट विनियोजन भएको उनले बताए ।
कोरोना संक्रमणका कारण सबै तालिम सञ्चालन गर्न नसकिने र सञ्चालित तालिममा पनि दोहोरोपना हटाउन र पारदर्शीताका लागि छलफल शुरु गरिएको उनको भनाइ छ ।
आजको छलफलले सामाजिक विकास मन्त्रालयको संयोजकत्वमा तीनवटै मन्त्रालयको महाशाखा प्रमुख सदस्य रहनेगरी कार्यदल गठन गरिएको छ । कार्यदललाई तालिम सञ्चालनको खाँका तयार गर्ने जिम्मेवारी दिइएको छ ।
कार्यदलको सुझाव अनुसार नीतिगत रूपमा कार्यक्रम सञ्चालनको मार्गदर्शन तयार गरिएको श्रम तथा रोजगार शाखाका अधिकृत गौतमले बताए ।