Rumpum Advertisement

समानन्द हत्या प्रकरण : धरौटीमा छुटे वडा अध्यक्ष यादव

Neuro
समानन्द हत्या प्रकरण : धरौटीमा छुटे वडा अध्यक्ष यादव

विराटनगर, ११ मंसिर । विराटनगर महानगरपालिका– १४ का ५५ वर्षीय समानन्द यादवको हत्यामा संलग्न भएको आरोप लागेका जनप्रतिनिधि धरौटी बुझाएर छुटेका छन् ।

विराटनगर महानगरपालिका– १४ का वडा अध्यक्ष बलदेव यादव तीन लाख धरौटी बुझाएर छुटेका हुन् ।

हत्या आरोपी यादव डेढ वर्षयता फरार थिए । बिहीबार सटुक्ट जिल्ला अदालत मोरङ हाजिर भएका अध्यक्ष यादवलाई जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

आदेशपछि यादव धरौटी बुझाएर छुटेको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

मृतक समान्द यादवकाे शव अगाडि उनका आफन्त

विवाहको विषयमा विवाद हुँदा ३२ जेठ २०७६ मा विराटनगर महानगरपालिका– १४ का वडा अध्यक्ष यादवको घरमा बसेका पञ्चायतीले विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट गरेकाे थियाे ।

कुटपिटबाट घाइते यादवको एक महिनापछि २६ असार २०७६ मा मृत्यु भएको थियो । यादवका परिवारले घटनामा संलग्न भएको आरोपमा तीन जना वडा अध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

जाहेरी परेका तीन जनप्रतिनिधिमध्ये २ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । घटना भएकाे घरका घरधनीसमेत रहेका विराटनगर– १४ का अध्यक्ष यादवलाई भने धराैटीमा छाडेकाे हाे ।

गत १४ जेठमा अदालतमा उपस्थिति भएका विराटनगर–१८ का वडा अध्यक्ष सञ्जय साह र गत २४ माघमा हाजिर भएका जहदा गाउँपालिका–१ का वडा अध्यक्ष प्रदीपचन्द्र यादवलाई भने थुनामा राख्ने आदेश दिएको थियो ।

उच्च अदालत विराटनगरले प्रदीपचन्द यादवलाई जिल्लाको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश दिएको थियो । साहको हकमा भने जिल्लाको आदेश सदर गरेको थियो ।

समानन्द हत्या प्रकरणमा जहदा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रदीप यादव, विराटनगर महानगरपालिका १८ का वडा अध्यक्ष सञ्जय साह, विराटनगर– १४ का अध्यक्ष बलदेव यादव, बलदेवका छोरा रविन, भतिज दीपेश, छिमेकी विन्देश्वर यादव, शम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादवविरुद्ध किटानी जाहेरी परेको थियो ।

समानन्दका छोराको विवाहको विषयमा विवाद हुँदा वडा अध्यक्ष यादवको घरमा भेला भएको पञ्चायतीले समानन्दमाथि कुटपिट गरेको थियो । कुटपिट भएको एक महिनापछि उनको कोशी अस्पताल विराटनगररमा मृत्यु भएको थियो ।