Rumpum Advertisement

साहेबगञ्जमा बर्सेनि नदी कटान : कृषकको समस्या सरकारले बुझेन

Neuro
साहेबगञ्जमा बर्सेनि नदी कटान : कृषकको समस्या सरकारले बुझेन

मोहन ढकाल,
विराटनगर, ११ मंसिर । बुढी खोलाले सुनसरीको देवानगञ्ज गाउँपालिका–५ साहेबगञ्जमा बर्सेनि नदी कटान हुनेगर्छ । बर्खामा आउने बाढीले खेतीयोग्य जमिन बगाएर लैजान्छ । तर कटान नियन्त्रण गर्न स्थानीय प्रशासनले चासो दिएको छैन ।

विगत वर्षको तुलनामा गत असारमा बढी खेतीयोग्य जमिन कटान भएको स्थानीयको गुनासो छ । उक्त खोलादेखि लगभग ४० मिटरको अन्तरमा रहेको निजी विद्यालय जोखिममा परेको छ ।

खोला वरपर रहेको अधिकाशं रुख बिरुवा, बाँससमेत कटान भएर नदीमा बगेको कारण थप जोखिम बढेको स्थानीय प्रदीप पोद्धारले बताए । कृषकले लगाएको बालीसमेत खोलाले बगाएर लाने गरेको छ ।

कटानका कारण बर्सेनि ठूलो क्षति भोग्नुपरेको स्थानीय कृषक नारायण शाहले बताए । लगातारको कटानका कारण कतिपयको जग्गा पनि सकिने अवस्थामा पुगेको उनले बताए । आफ्नो १८ कठ्ठा जग्गामध्ये अहिले ४–५ कठ्ठा मात्रै जग्गा बाँकी रहेको स्थानीय नारायण शाहले गुनासो गरे ।

कृषि कर्म गरेर परिवार चलाइरहेका उनले बर्सेनि कटानका कारण जग्गा नै सकिने अवस्थामा पुगेकाले अब कसरी दैनिक गुजारा गर्ने भन्ने समस्या थपिएको बताए । कटान वर्षौँदेखिको समस्या भएपनि सम्बन्धित निकाय मौन रहेको स्थानीयले गुनासो गरेका छन् । बारम्बार स्थानीय सरकारलाई जानकारी गराउँदा पनि बेवास्था गरिरहेको स्थानीय राकेश यादवले बताए ।

खोलामा बाँध लगाएर कटान नियन्त्रण गर्न भन्दै २०७३ सालमा पाँच लाख रुपैयाँ बजेट आएको स्थानीय राकेश यादवले बताए । तर पाँच लाखमध्ये २ लाख जतिको काम भएको र गुणस्तरीय नभएको उनको गुनासो छ ।

खोलामा बाँध बनाउन भन्दै स्थानीयले बारम्बार कुरा राख्दासमेत तीन तहका सरकारले नसुनेको उनीहरूको गुनासो छ । बर्सेनि कटानको समस्या हुने उक्त स्थानमा कटान रोकथाम कार्यको लागि तत्काल कुनै योजना नभएको वडा नं ५ का वडा अध्यक्ष अशोक यादवले बताए ।

गाउँपालिका भने प्रदेश सरकारको कमजोरीका कारण समस्या समाधानमा ढिलाई भएको भन्दै पन्छिने गरेको छ । प्रदेश सरकारलाई जानकारी गराउँदा पनि वेवास्था गरेको गाँउपालिका अध्यक्ष लालीप्रसाद मेहताले बताए ।

मोरङ सुनसरी सिँचाई आयोजनामा पनि बारम्बार कुरा राख्दा खासै ध्यान नदिएको उनले बताए । ठूलो बजेट लाग्ने भएकाले गाउँपालिकाले मात्रै केही गर्न नसक्ने उनले बताए ।