Rumpum Advertisement

विराटनगरका बालबालिकालाई हाम्रो अभियानको न्यानो कपडा

Neuro
विराटनगरका बालबालिकालाई हाम्रो अभियानको न्यानो कपडा

विराटनगर, ११ मंसिर । हाम्रो अभियानले पूर्वाञ्चल अनाथ आश्रम विराटनगरका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । जाडो मौसम सुरु भएसँगै हाम्रो अभियानले विपन्न र असहायलाई न्यानो कपडा वितरण सुरु गरेको हो ।

अभियानले सडक पेटीमा आश्रय लिएका र विराटनगरको विभिन्न आश्रमहरूमा न्यानो कपडा वितरण गरेको अभियन्ता वसिम आलमले बताए । दसैँलगत्तै विराटनगरका विभिन्न सडक पेटीमा आश्रय लिएर बसेकालाई न्यानो कपडा वितरण गरिसकेको उनले बताए ।

त्यसैगरी मानव सेवा आश्रम, वृद्धाआश्रममा कपडा वितरण गरेको उनले जानकारी दिए । बिहीबार पूर्वाञ्चल अनाथ आश्रमका बालबालिकालाई जाडोका कपडासँगै दालचामलसमेत अभियानले सहयोग गरेको थियो ।

अभियानले कोरोना महामारीको कारण भएको लकडाउनको समयमा १ सय २० दिनसम्म सडक पेटीमा बस्नेहरूलाई निरन्तर खाना खुवाएको थियो । लकडाउनको समयमा सुरक्षित रहन घरमै बसेको भए अभियान यहाँसम्म आउन नसक्ने आलमले बताए ।

परिवारको सुरक्षा, माया र डरका बाबजुद पनि असहाय, अनाथहरूको अवास्थाले काम गर्न प्रेरणा मिलेको उनले बताए । लकडाउनको समयमा मानिसहरू भोकभोकै सडकमा भौतारिएको देखेपछि यो अभियानलाई अगाडि बढाएको अर्का अभियन्ता कृचल आले मगरले बताए ।

पूर्वाचल अनाथ आश्रमकी सीता पोखरेलले अहिलेको संकटपूर्ण अवस्थामा भएकोले सहयोगको सराहना गरेकी थिइन् ।