Rumpum Advertisement

नेपाल छिरेपछि अलमलियो निलगाईको बाछो

नेपाल छिरेपछि अलमलियो निलगाईको बाछो

विराटनगर, ११ मंसिर । बिहीबार बिहान मोरङको रंगेली नगरपालिका–३ दौलतपुरमा निलगाईको बाछो भेटिएको छ । करिब एक वर्षको बाछो भेटिएको हो ।

निलगाई दुर्लभ एवं संरक्षित वन्यजन्तुभित्र पर्ने वन कार्यालयका कर्मचारीहरू बताउँछन् । उर्लाबारीको सव डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख एवं सहायक वन अधिकृत तारिणी चौधरीले माउसँगै चर्दै भारतबाट नेपाल छिरेको बाछो चर्नेक्रममा अलमलमा परेर यतै रोकिएको हुनसक्ने बताए ।

निलगाईको बाछो भेटिएको जानकारी पाएपछि अरु कर्मचारी लिएर चौधरी आफै रंगेलीको आमतोला पुगेका थिए । शिवकुमार मण्डलको पोखरी छेउमा चरिरहेको बेला बाछो स्थानीय बासिन्दाले देखेका हुन् ।

हरिणभन्दै स्थानीयले मार्नलाई नियन्त्रणमा लिने प्रयास गरे पनि तत्काल पुगेको प्रहरीले मार्नलाई रोक्दै जीवितै नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाएको छ ।

गाउँ पसेको हरिण स्थानीयले मार्नलाई नियन्त्रणमा लिन खोजिरहेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले त्यसको सुरक्षाका लागि लागि प्रहरी टोली परिचालन गरेका थिए ।

नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाए पनि प्रहरीले हरिण हो कि निलगाईको बाछो भन्ने चिन्न सकेन ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा हरिणलाई जीवितै नियन्त्रणमा लिएर वन कार्यालयको जिम्मा लगाइएको उल्लेख छ । तर वन कर्मचारीले उक्त वन्यजन्तु हरिण नभइ निलगाईको बाछो भएको बताएको छ ।

सहायक वन अधिकृत चौधरीले प्रहरीले नचिनेर निलगाईको बाछोलाई हरिण भनेको हुनसक्ने बताए । उनले बाछो ५० किलो तौल बराबरको रहेको बताए । उर्लाबारीको मंगलबारे लगेर बस्ने संरचना तयार गर्दै त्यसलाई सुरक्षित राखिएको छ ।

बस्नलाई आवश्यक संरचना तयार गरेपछि बाछो संरक्षण र पालनपोषणका लागि पथरीशनिश्चरेमा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको जिम्मा लगाइने जानकारी दिए ।

‘चिसाङ खोलाको किनार हुँदै माउसँग चर्दै बाछो भारततिरबाट मोरङ छिरेको हुनसक्छ,’ उनले भने, ‘माउ आएकै ठाउँतिर फर्किए पनि बाछो अलमलमा परेर यतै रोकिएको अनुमान छ ।’ उनका अनुसार मान्छे वा अरु कनै जीवलाई देखेपछि माउ तर्सिएर भागेको र बाछो भने भाग्न नसकेर रहेको पनि हुनसक्छ ।

चौधरीका अनुसार मोरङसहित पूर्वी नेपालमा नपाइने निलगाई भारततिरबाट चर्दै आउने क्रममा मात्रै देखिने गरेको छ । चितवनतिर निलगाई पाइए पनि पूर्वी नेपालमा भने नपाइने गरेको उनले सुनाए ।

निलगाईले खोलाको छेउ, खुला ठाउँ, घाँसे मैदान र काँस घारीमा चर्न मन पराउने उनको भनाइ छ । हिउँदको समयमा भारततिर चरण अभाव हुँदा प्रायः निलगाई नेपालतिर चर्नलाई छिर्ने गरेका छन् ।

‘संरक्षित, दुर्लभ र स्तनधारी वन्यजन्तु निलगाई मार्न कानुनले प्रतिबन्ध लगाएको छ,’ चौधरीले भने, ‘प्रायः नेपालको पनि चितवनतिर मात्रै यो पाइन्छ ।’ निलगाईले मानिसलाई केही पनि असर नगर्ने उनले बताए ।

‘मान्छेलाई देख्यो भने आफैँ तर्सिएर भाग्छ । तर आक्रामक बनेर कहिल्यै जाइलाग्दैन,’ चौधरीले भने, ‘मान्छेलाई केही नगर्ने भएकाले डराउनु पर्दैन । बरु कतै भेटियो भने सुरक्षा र संरक्षणका लागि वन कर्मचारी वा सरोकारवालालाई खबर गरेर सहयोग गर्नुपर्छ ।’