birat ribon

देशभित्रै लगानी गर्न उद्योगीलाई प्रधानमन्त्रीको आग्रह

Neuro
देशभित्रै लगानी गर्न उद्योगीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रश्रय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताएका छन् ।

cura insider

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औैं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समूहले सरकारले दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रश्रय दिएको र उद्योगी व्यवसायीलाई विभाजित गर्‍यो भन्ने आरोप लगाएको भन्दै त्यस्ता अभिव्यक्ति भ्रमपूर्ण रहेको बताएका हुन् ।

त्यस्ता अभिव्यक्ति सुनेर दुविधामा नपर्नसमेत निजी क्षेत्रलाई प्रधानमन्त्री ओलीले आग्रह गरे । देशको निम्ति काम गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्योगी व्यवसायीहरु राष्ट्रका साझा सम्पत्ति भएको बताए । त्यसैले सरकारको नजरमा सबै उद्योगी व्यवसायी समान भएको उनको भनाइ छ ।

राज्यले सबैलाई कानुनसम्मत ढंगले संरक्षण प्रदान गर्ने र सुरक्षा दिने काम गर्ने प्रष्ट पारे । तर राज्यले उद्योगी व्यवसायीहरुसँग सधै कारोबारमा पारदर्शिता कायम गर्न मात्रै आग्रह गरेको प्रधानमन्त्री ओलीले बताए ।

सरकार राष्ट्रिय पूँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पूँजीपतिहरुलाई सबल बनाउने पक्षमा रहेको प्रधानमन्त्री ओलीले बताए । राष्ट्रिय पूँजी, उद्यमी र पूँजीपतिहरुलाई विकास गर्न नसक्दा वैदेशिक लगानी खोज्नुपर्ने बाध्यता भएको पनि उनले बताए ।

देशमा पूँजी निर्माण गरी बाह्य देशमा लगानी नगर्नसमेत उनले आग्रह गरे । देशमा लगानीका अवसर सिद्धिएको नभई झन् बढेकाले देशभित्रै लगानी बढाउन ओलीले सुझाव दिए । अहिले पनि देशभित्र उपभोग हुने अधिकांश वस्तु आयात गर्नुपर्ने भएकाले त्यसलाई प्रतिस्थापन गर्न पनि उत्पादन बढाउने क्षेत्रमा लगानी गर्न आग्रह गरे । नेपालका सबै उद्योग व्यवसाय, सेवा क्षेत्र, कृषि, पर्यटन सबैलाई साथ सहयोग लिएर सहकार्य गर्न सरकार तयार भएको पनि प्रधानमन्त्री आलीले स्पष्ट पारे ।

कोभिडका कारण नागरिक, निजी क्षेत्र र सरकार सबैलाई कठिनाइ परेकाले मिलेर सामना गर्नुको विकल्प नरहेको पनि प्रधानमन्त्री ओलीले बताए । कोरोनाको असरलाई राहत पु¥याउन अन्य देशका सरकारले ठूलो रकम विनियोजन गरेको तर हामीले पाएनौं भन्ने लाग्न सक्ने स्वभाविक भएको बताए ।

सरकार मनको गरीब नभई आफ्नो क्षमता र गक्षअनुसार उद्यमी व्यवसायीहरुलाई सघाएको बताए ।
उनले गक्षभन्दा एक कदमअगाडि बढेर सरकारले सहयोग गरे पनि बचत नभएका कारण त्यो थोरै हुने बताए । तर पनि सबै पक्ष मिलेर एकसाथ नहिँडे अर्थतन्त्रलाई जोगाउन कठिन हुने उनको भनाइ छ ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले भने कोरोनाका कारण अर्थतन्त्र र व्यवसायी दुःखमा भएको बताएका छन् । बजेटमा ल्याइएको सहुलियत कर्जाको कार्यविधि ढिलो आउँदासमेत उद्योग व्यवसायलाई निरन्तरता दिन कठिनाइ भएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए ।

उद्योग व्यवसायलाई निरन्तरता दिन पुँजीको अभाव भएकाले घोषणा भएका राहत प्याकेज छिटो उपलब्ध गराउन सरकारको ध्यान जानुपर्ने गोल्छाले बताए ।

jackson ribon