birat ribon

सुत्केरी कल्पनामाथि बज्रपात, १५ दिनको छोरो दुर्घटनामा गुम्यो, श्रीमान् बेपत्ता

Neuro
सुत्केरी कल्पनामाथि बज्रपात, १५ दिनको छोरो दुर्घटनामा गुम्यो, श्रीमान् बेपत्ता

विराटनगर, ११ मंसिर । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ मा बस्दै आएकी कल्पना यादवका श्रीमान् सम्पर्कविहीन छन् । दुई महिनाको गर्भ रहेको अवस्थामा श्रीमान् सम्पर्कविहीन भएका थिए । दुई साताअघि उनले छोरो जन्माइन् । सुत्केरीबाट उठ्न नपाउँदै उनीमाथि बज्रपात प¥यो । सवारी दुर्घटनामा उनको १५ दिने छोराको मृत्यु भयो ।

cura insider

विराटनगर महानगरपालिका–१२ माइती भएकी २५ वर्षीया कल्पना यादवको छ वर्षअघि सिन्धुलीका दीपक यादवसँग मागी बिहे भएको थियो । दीपक काठ मिस्त्री हुन् । बिहेपछि आफू काम गर्ने ठाउँ सुन्दरहरैँचा लगेर राखेका थिए । श्रीमतीसँगै डेरामा बसेर आफू नियमित काम गर्न थाले ।

पहिलो सन्तान छोरा हुन्जेल उनीहरुको सम्बन्ध सुमधुर थियो । पहिलो सन्तान अविराज ५ वर्षका भए । कल्पनाको अर्को गर्भ बस्यो । बच्चा पेटमा आएको लगभग दुई महिनापछि एकाएक हिँडेका श्रीमान् अहिलेसम्म फर्किएका छैनन् । तर सात महिनाअघि हिँडेका श्रीमान् फर्किएर आउने आसमा उनले डेरा बसेको घर भने छाडेकी छैनन् ।

‘काम गर्न जान्छु भनेर डेराबाट निस्किए पनि अहिलेसम्म फर्कनु भएको छैन,’ कल्पनाले भनिन्, ‘खोजी गर्दागर्दा हामी हारिसक्यौं ।’

सम्पर्कविहीन भएको दिनदेखि काम गर्ने ठाउँमा पनि नपुगेको उनले बताइन् । हराएका श्रीमान्को अहिलेसम्म अत्तोपत्तो छैन । ‘कतै जान्छु भनेर पनि भन्नु भएन । न त अहिलेसम्म कुनै सम्पर्क नै छ,’ उनले भनिन्, ‘सिन्धुलीस्थित घरमा पुग्दा पनि फेला पार्न सकिएन । घरपरिवारबाट यता आएकै छैन भन्ने जवाफ पायौं ।’

सामान्य विवादपछि हराएका श्रीमान् नभेटेको उनले बताइन् । श्रीमान् बेपत्ता भएपछि विराटनगरस्थित माइतीबाट ५० वर्षीया आमा महावती यादव गएर गर्भवती अवस्थाकी छोरी कल्पनाको स्याहार गरिन् ।

बिहे गरेर दिएका ज्वाइँ बेपत्ता भएपछि अर्काको भाँडा माझेर र बनिबुतो गरेर गर्भवती छोरीको सात महिनासम्म महावतीले स्याहार गरिरहिन् । ‘पेट रहेकी छोरीलाई भोकै राख्ने कुरा भएन,’ उनले भनिन्, ‘काम गर्न जान नसकेको र काम नपाएका कयौं दिन त मागेर पनि खुवाएँ ।’

१५ दिनअघि दोस्रो सन्तान उनले छोरा नै जन्माइन् । सुत्केरी अवस्थाकी उनी राम्ररी उठेर हिँड्न सक्ने अवस्थामा छैनन् । तङ्ग्रिन नसकिरहेकी उनलाई आमा महावतीले नै स्याहारसुसार गरिरहेकी थिइन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–६ दुलारीमा मोटरसाइकलको ठक्करबाट १५ दिने छोरो देव यादवको मृत्यु भयो । दुर्घटनामा घाइते कल्पना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत छिन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को३६प ४४२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनले च्यापेको शिशु अचानक भुइँमा बजारिन पुगेका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार अचानक छोरो बिरामी परेपछि उपचारका लागि लिएर जाँदै गर्दा मंगलबार राति १० बजेतिर पैदल हिँडिरहेकी कल्पनालाई मोटरसाइकलले ठक्कर दिएको हो ।

छोरालाई जतिसक्दो चाँडो उपचारका लागि पु¥याउने ध्याउन्नमा रहेकी उनलाई सडक पार गर्दैगर्दा तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिएको उनले बताए ।

ढकालका अनुसार दुर्घटनामा परेर आमा र छोरा नै घाइते भएपछि तत्काल उपचारका लागि स्थानीय मेडिकलमा पुर्‍याएका थिए । तर छोराको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि धरान लगिएकोमा शिशुको बुधबार बिहान १ बजेतिर मृत्यु भएको उनले बताए ।

मोटरसाइकलको ठक्करबाट सुत्केरी अवस्थाकी कल्पनाको पनि खुट्टा, छाती लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । प्रहरीले मोटरसाइकल चालक सुन्दरहरैँचा–७ का विनोद चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

पोस्टमार्टम गरेर १५ दिने नातिको शव अस्पतालले जिम्मा लगाउँदा भक्कानिएकी महावतीको आँखाबाट आँसु थमिएका छैनन् । उनलाई आफैं सम्हालिन मुस्किल परिरहेको थियो । ‘ज्वाइँले छाडेको पीडामा रहेकी छोरीलाई दुई हप्ताको छोरो गुमाउँदाको बज्रपात पनि पर्‍यो । आफैं घाइते भएर छोरी अस्पतालमा छटपटाइरहेकी छ,’ भक्कानिँदै उनले भनिन्, ‘छोरीलाई के हुने हो, थाहा छैन । यो मरेको मुर्दा लगेर मैले के गर्नु ?’

कल्पनालाई आफू घाइते हुँदाको दुखाइभन्दा छोरो गुमाउँदाको पीडा धेरै छ । ‘छाडेर जानु भएको श्रीमान् फर्किएर आउनु हुन्छ कि हुँदैन भन्ने पीडाले पिरोलेको छ,’ उनले भनिन्, ‘भर्खर जन्मिएको छोरो पनि अब मसँग रहेन ।’ दुई हप्ताकी सुत्केरी उनले श्रीमान्ले छाडेको पीडासँगै छोरो गुमाउँदाको तनावले आफू केही सोच्नसक्ने अवस्थामा नभएको सुनाइन् ।

jackson ribon