birat ribon

भारतीय पक्षले भत्कायो सीमा स्तम्भ, झापामा ६ वटा जंगेपिलर हरायो

Neuro
भारतीय पक्षले भत्कायो सीमा स्तम्भ, झापामा ६ वटा जंगेपिलर हरायो

विराटनगर, ११ मंसिर । झापाको दक्षिणी सीमावर्ती क्षेत्रमा भत्काएको अवस्थामा सीमा स्तम्भ फेला परेको छ । झापाको सीमावर्ती क्षेत्र गौरिगञ्ज गाउँपालिका–२ दरियालभस्मामा सीमा स्तम्भ भत्काएको अवस्थामा फेला परेको हो ।

cura insider

कनकाई नदीको बगरमा रहेको १४३ को १९ नम्बरको सीमा स्तम्भ भत्किाएर दशगजाबाट करिब एक सय मिटरयता नेपालतर्फ खाल्डो पनि खनिएको छ । सीमा स्तम्भ भत्काउने र नेपालतर्फ आएर खन्ने काम भारतीय सीमा सुरक्षा वल एसएसबीले गरेको स्थानीयले बताएका छन् । काँसघारीमा रहेको सीमा स्तम्भ सार्नका लागि नेपालतर्फ आएर खाल्डो खनेको स्थानीयको दावी छ ।

नेपाली भूभागमा भारतीयले खनेकाे खाल्डाे

केही दिनअघि हतियार र कोदालोसहित सीमामा भारतीय सुरक्षाकर्मीको टोली आएको थियो । सीमा क्षेत्रमा शंकास्पद गतिविधि गरेको देखेपछि स्थानीयले हेर्दा कनकाई नदीको बगरमा रहेको १४३ को १९ नम्बर सीमा स्तम्भ भत्काएर छोपिएको अवस्थामा थियो । सीमा स्तम्भभन्दा करिब एक सय मिटर नेपालतर्फ आएर खाल्डो खनिएको थियो ।

प्रहरी स्रोतका अनुसार सो वरपर १४३ नम्बर सीमा स्तम्भका २२ वटा सब–सीमा स्तम्भ छन् । जसमा पाँचवटा मात्रै सकुशल छन् । बाँकी सीमा स्तम्भ भेटिएको छैन् ।

कनकाई नदीको बगरमा काँसघारी छ । काँसघारीमा रहेको स्तम्भ फुटाइएको अवस्थामा भेटिएको हो । सोही स्तम्भमा हरियो बासको टुप्पो पनि गाडिएको छ । स्थानीयले पिलर खोज्ने क्रममा भत्काएर काँसले छोपिएको अवस्थामा १४३ को १९ नम्बरको सीमा स्तम्भ भेटेका थिए । सीमा स्तम्भ वरिपरि भर्खरै खनिएको जस्तो माटो पनि भेटिएको गौरीगञ्ज गाउँपालिका कार्यपालिका सदस्य जेठा मुर्मुले बताए ।

भत्काइएकाे १९ नम्बर सीमा स्तम्भ

उनका अनुसार भत्किएको अवस्थामा फेला परेको सीमा स्तम्भ नै शंकास्पद अवस्थामा छ । ‘भारतबाट १८–२० जनाको टोली आएर शंकास्पद गतिविधि गरेर फर्किए,’ मुर्मु भन्छन्, ‘नेपालतर्फ खाल्डो पनि खनेका छन् । १९ नम्बर सीमा स्तम्भ भत्किएको अवस्थामा भेटियो ।’ भारतीय पक्षले नै आएर भत्काएको उनले बताए ।

१२२ सीमा स्तम्भ हरायो

झापामा दक्षिणी सीमामा ९८८ वटा सीमा स्तम्भ र ७ वटा रिफ्रेन्स सीमा स्तम्भ राखिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार झापामा ७० वटा जंगे सीमा स्तम्भ, १०८ सहायक, ८१० वटा साना सीमा स्तम्भ छन् । त्यस्तै सातवटा रिफ्रेन्स सीमा स्तम्भ छन् ।

नेपाल भारत दुबैतर्फको रेकर्डमा झापामा मात्रै ६ वटा जंगे सीमा स्तम्भ हराएको छ । ७ वटा सहायक सीमा स्तम्भ हराएको छ । साना १०९ वटा स्तम्भ हराएका छन् ।

जंगे सीमा स्तम्भ ५१ वटा सामान्य अवस्थामा छ । ११ वटा मर्मत गर्नुपर्ने र २ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छ ।

१०८ सहायक सीमा स्तम्भमध्ये ६३ वटा सीमा स्तम्भ सामान्य अवस्थामा छन् । मर्मत गर्नुपर्ने १७ र पुनर्निर्माण गर्नुपर्ने ७ वटा छन् । खोलाले १४ वटा सहायक स्तम्भ बगाएको छ । ७ वटा मझौला स्तम्भ हराएका छन् ।

८१० साना सीमा स्तम्भमध्ये ५६९ वटा सकुसल छन् । मर्मत गर्नुपर्ने ४८ र पुनर्निर्माण गर्नुपर्ने २२ वटा छन् । ५६ वटा साना सीमा स्तम्भ खोलाले बगाएको छ भने १०९ वटा सीमा स्तम्भ हराएका छन् । सातवटा रिफ्रेन्स सीमा स्तम्भमध्ये एउटा हराएको छ ।

प्रमुख जिल्ला अधिकारी भन्छन् : अध्ययन भइरहेको छ

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना भत्काएको स्तम्भका बारेमा सशस्त्र प्रहरीको टोलीले अनुसन्धान गरिरहेको बताउँछन् । प्रहरी रिपोर्ट आएपछि थप बोल्न सकिने उनले बताए ।

‘सीमा स्तम्भ भत्किएका विषयमा जानकारी आएको छ,’ उनले भने, ‘सीमा स्तम्भ जीपीएस सिस्टममा छ, सशस्त्र प्रहरीको टोलीले अध्ययन गर्दैछ, प्रतिवेदन आएपछि थप खुल्छ ।’

सामान्यतया नाकामा एक पक्ष मात्रै जान मिल्दैन । अनुगमन गर्नुपरे दुबै पक्ष जाने गर्छन् । सीमा स्तम्भ भत्किएको सूचना आएपछि नेपाल र भारत दुवैतर्फको सुरक्षा टोलीले अनुगमन गरेको थियो । अनुगमन गर्दा स्तम्भ भत्काएको अवस्थामा भेटिएको थियो । केही दिनअघि एकपक्षीयरुपमा आएको भारतीय सीमा सुरक्षा वल (एसएसबी)को टोलीले सीमा स्तम्भ खोजी गर्ने क्रममा नेपालतर्फ आएर बगरमा खनेको सशस्त्र प्रहरी स्रोतको दावी छ ।

jackson ribon