birat ribon

लोकगायक गन्धर्वको उपचारका लागि सहयोग जुट्दै

Neuro
लोकगायक गन्धर्वको उपचारका लागि सहयोग जुट्दै

विराटनगर, ११ मंसिर । ‘रिन्केबुङको राँगोलाई चुङ्केबुङको चुलेसीले’ बोलको गीतका गायक सुरेश गन्धर्वलाई उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।

cura insider

मुटु, मधुमेह, थाइराइड, उच्च रक्तचाप र युरिक एसिडजस्ता दीर्घरोगले विगत सात वर्षदेखि थलिएका गायक गन्धर्व पूर्वमा सारंगी रेट्नेमा ‘बादशाह’ मानिन्छन् । तर उनको सारंगी रेट्ने बादशाही कलाले भने आर्थिक उपार्जनमा भरपर्दो साथ नदिएपछि रोगको उपचार गर्न सकेका थिएनन् ।

गायक गन्धर्व हाल धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ट्रापिकल वार्डमा उपचाररत छन् । आर्थिक संकट व्यहोरिरहेका गायक गन्धर्वलाई रंगकर्मी, राजनीतिकर्मीहरुको पहलमा वीपी प्रतिष्ठानमा भर्ना गरिएको छ ।

उनलाई नेकपा नेता चोत्लुङ, रंगकर्मी विष्णु मोक्तानले अस्पताल भर्ना गरेका हुन् । सुरुमा आकस्मिक कक्षमा लगिएको थियो । त्यहाँबाट मुटु रोग विशेषज्ञ प्रा.डा. सञ्जीव शर्मासँग समन्वय गरेपछि गायक गन्धर्वलाई ट्रपिकल वार्डमा सारिएको नेता चोत्लुङले जानकारी दिए ।

यसअघि धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले पनि अस्पतालमा भेट गर्दै सहयोगको प्रतिवद्धता जनाएकी थिइन् । यस्तै बुधबार बिहान धरानका मेयर तिलक राईले पनि अस्पताल पुगेर गन्धर्वलाई भेटेका थिए । मेयर राईले गन्धर्वलाई उपचारमा सक्दो सहयोग गर्न अस्पताल निर्देशकसँग कुरा गरिसकेको बताए । साथै उनले उपमहानगरपालिकामा पनि सल्लाह गरेर थप सहयोग गर्ने बताए ।

यस्तै प्रबोध साप्ताहिकको तर्फबाट पनि ३ हजार ३ सय ७५ रुपैया गायक गन्धर्वलाई सहयोग गरिएको छ । गायक गन्धर्वलाई अस्पतालमा भर्ना तथा उपचारका लागि पहल गरिरहेका रंगकर्मी विष्णु मोक्तानले संकलन भएको रकम बैंकमा जम्मा गरिने बताए ।

jackson ribon