विराटनगर, ११ मंसिर । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
बुधबार समूह चरणको चौथो खेलमा ग्रीसको क्लब ओलम्पियाकोसमाथि १–० गोलको जित निकाल्दै सिटी दुई खेलअगावै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
ओलम्पियाकोसको मैदानमा सिटीलाई जिताउन फिल फोडेनले निर्णायक गोल गरे । खेलका ३६औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई जिताए ।
जितसँगै समूह ‘सी’को शीर्ष स्थानमा रहेको सिटीले १२ अंक जोड्यो । ३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
अघिल्लो भेटमा सिटीले ओलम्पियाकोसलाई ३–० गोलले हराएको थियो ।
यस्तै आजै सोही समूहको पोर्टोमाथि मार्सेलीले २–० गोलको जित निकालेको छ ।