birat ribon

भारतका विदेशसचिव आज नेपाल आउँदै

Neuro
भारतका विदेशसचिव आज नेपाल आउँदै

विराटनगर, ११ मंसिर । भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत बिहीबार (आज) आउँदैछन् ।

cura insider

उनी बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ उत्रने छन् । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै प्रमुख विपक्षी दल नेपाली कांग्रेसलगायत दलका उच्च नेतासँग भेट गर्ने बताइएको छ ।

भ्रमणकै क्रममा उनले भारत सरकारले सहयोग स्वरूप पठाएको कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् । विदेशसचिव श्रृङ्गलाले भ्रमणका क्रममा बिहीबारै परराष्ट्र सचिव भरतराज पौडेलसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

यस द्विपक्षीय भेटमा नेपाल–भारतबीच सहकार्यमा रहेका विभिन्न परियोजनाका बारेमा छलफल हुने छ । भारतले भूकम्पपछिको पुनर्निर्माणमा ठूलो सहयोग राशिका साथ सघाइरहेको छ ।
त्यस्तै नेपालको तराई क्षेत्रका सडकमार्ग स्तरोन्नति र पूर्वाधार निर्माण अन्तर्गतको हुलाकी सडक निर्माण, सीमा नाकामा चारवटा चेकपोस्ट निर्माण, नेपाल–भारत पेट्रोलियम पाइपलाइन, रेल्वे सेवा, खाद्य सुरक्षा, व्यापार वाणिज्य, अरुण तेस्रोसहितका विद्युत् उत्पादनलगायत विविध परियोजनामा दुई मुलुकबीच सहकार्य जारी छ ।

विशेषगरी उनको भ्रमण नेपाल–भारत संयुक्त आयोगको बैठकको तयारीका लागि केन्द्रित रहने भएकाले त्यस बैठकमा उठान गर्नुपर्ने विषयमा परामर्श हुने छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने आयोगको छैटौँ बैठक अर्को महिना भारतको नयाँदिल्लीमा गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई साँध सिमाना जोडिएका नेपाल–भारत वा नेपाल–चीन दुवैतर्फ सद्भावपूर्ण सम्बन्ध रहनु जरुरी हुने बताउँछन् ।

भ्रमणको पूर्वसन्ध्यामा नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउने महत्वपूर्ण कडीका रूपमा रहेको उच्चस्तरीय भ्रमणको निरन्तरता स्वरूप यो भ्रमण हुन लागेको मन्त्रालयले जनाएको छ । भारत सरकारले नेपाललाई सधैँ आफ्नो निकट मित्रका रूपमा लिएर उच्च महत्व दिएको जनाइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवाद समाधानको कडी खोज्न भारतीय विदेशसचिव श्रृङ्गलाको महत्वपूर्ण भूमिका रहने छ । श्रृङ्गला भोलि (शुक्रबार) स्वदेश फर्कने छन् ।

jackson ribon