Rumpum Advertisement

सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग

Neuro
सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग

काठमाडाैं, १० मंसिर । तीनवटा ट्रेड युनियनहरुले अनौपचारिक र स्वरोजगार क्षेत्रलाई समेट्नेगरी सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका छन् ।

सामाजिक सुरक्षा दिवसको अवशर पारेर नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल ट्रेड युनियन महासंघले सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका हुन् ।

रोजगारीको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यविधिले नसमेटेको बेरोजगारबीमा योजनालाई तत्काल सुरु गर्न समेत ट्रेड युनियनहरूले माग गरेका छन् । योगदानकर्ताको आश्रित परिवारलाई समेट्ने गरी स्वास्थ्य तथा उपचार सुविधामा परिमार्ज पनि माग गरिएको नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

अवकाशपछिको स्वास्थ्य सुरक्षासमेत समेट्ने गरी कार्यक्रम विस्तार गर्न पनि माग गरिएको उनले बताए ।

सामाजिक सुरक्षा कोषमा उपदान वा अवकाश कोषकै रूपमा स्वेच्छिक रूपले तोकिएभन्दा बढी रकम जम्मा गर्ने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गरिएको श्रेष्ठले बताए ।

ट्रेड युनियनहरूले सामाजिक सुरक्षा कार्यक्रमको सचेतनाका लागि नेपाल सरकार, रोजगारदाता संघ र ट्रेड युनियन महासंघहरूले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने, सञ्चयकोष तथा उपदान व्यवस्थापन गर्न योगदानमा आधारित सामाजिक सुरक्षा ऐनसँग बाझिएका ऐन नियमहरू परिमार्जन गर्नुपर्ने माग पनि छ ।

अहिलेसम्म करिब १३ हजार प्रतिष्ठानका १ लाख ७९ हजार ३ सय ४० श्रमिक कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा सूचिकृत भएपनि अझै धेरै क्षेत्रलाई यसले आकर्षण गर्न सकेको छैन ।