Rumpum Advertisement

नेकपा कुनैपनि हालतमा फुट्दैनः आचार्य

Neuro
नेकपा कुनैपनि हालतमा फुट्दैनः आचार्य

इनरुवा, १० मंसिर । नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश सांसद एवम् १ नम्बर प्रदेश पार्टी इन्चार्ज भीमप्रसाद आचार्यले नेकपा कुनै पनि हालतमा नफुट्ने बताएका छन् ।

बुधबार सुनसरीको सीमावर्ती कोशी गाउँपालिका वडा नं. ३ पश्चिम कुशाहामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता आर्यायले केन्द्रमा चर्काचर्की चलेकाले स्थानीयस्तरमा त्यसको भ्रम फैलिएको र पार्टी फुट्ने हल्ला फैलिएकाले नेकपा कुनै पनि हालतमा नफुट्ने बताए ।

देशको अभिभावक पार्टी नेकपा भएकाले नफुट्ने बरु बलियो भएर जनताको पक्षमा काम गर्ने बताउँदै उनले फरक प्रसंगमा कोशीको विकासका लागि पालिकास्तरदेखि नेतृत्व ठीक हुनु आवश्यक रहेको बताए ।

राज्यले उत्पीडनमा पारेका जातजाति, दलित, मधेशीलगायतका समुदायलाई मूल प्रवाहमा नल्याएसम्म गाउँको दीगो विकास र शान्ति कायम हुन नसक्नेसमेत उनले दाबी गरे ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस पूर्व क्षेत्रीय सदस्य उमर अन्सारीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी २४६ जना नेकपामा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमका प्रमुख अथितिसमेत रहेका आचार्य, विशिष्ट अतिथि सुनसरी जिल्ला कमिटी अध्यक्ष योगेन्द्र मण्डल पप्पु, जिल्ला कमिटी सदस्य अजय कुशियैत, सदस्य रामप्रसाद मेहता, शम्भु आचार्य, लोकेश निरौला, बाबुराम बराललगायतले पार्टीमा स्वागत गरेका थिए ।

नवप्रवेशीहरूलाई पार्टीको प्रभावशाली नेताहरूले अबिरको टिका र फूलमाला लगाई स्वागत गरेका थिए । नेकपा कोशी गाउँपालिकाका पार्टी अध्यक्ष ब्रह्मदेव यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालक पार्टी सचिव अरुण मण्डलले गरेको इन्चार्ज मनटुन यादवले जानकारी दिए ।