Rumpum Advertisement

एक करोडको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन

Neuro
एक करोडको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन

विराटनगर, १० मंसिर । विराटनगर–११ अलका टोलस्थित भद्राचोकमा १ करोड रुपैयाँको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण हुने भएको छ ।

स्थानीय समाजसेवी चिरञ्जीवी दाहाल र लक्ष्मीदेवी दाहालले निःशुल्क रुपमा उपलब्ध गराएको ८ धुर जग्गामा भवन निर्माण हुन लागेको हो । दाहाल दम्पत्तिले ५० लाख रुपैयाँ बराबरको जग्गा ज्येष्ठ नागरिक समाजका नाममा रजिष्ट्रेसन पास गरिसकेका छन् ।

१ करोड रुपैयाँको लागतमा निर्माण हुने दुईतले पक्की सामुदायिक भवनको बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र जग्गादाता दाहाल दम्पत्तिले संयुक्त रुपमा शिलान्यास गरे ।

भुइँ तलामा सभाहल हुनेछ भने माथिल्लो तलामा पत्रपत्रिकासहितको पुस्तकालय र कार्यालय हुनेछ । भवन निर्माण भइसकेपछि हरेक दिन ज्येष्ठ नागरिकहरूलाई भजनकीर्तन र योग गर्ने व्यवस्था मिलाइने वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।

मेयर पराजुलीले भवन निर्माणका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ उलपब्ध गराउने बताए । ज्येष्ठ नागरिक अनुभव, ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्नेमा उनले जोड दिए ।

महानगरले ज्येष्ठ नागरिकको सम्मानका लागि मासिक १ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको मेयर पराजुलीले जानकारी दिए । उनले भने, “ज्येष्ठ नागरिकप्रति महानगरको उच्च सम्मान छ । त्यही भएर नै महानगरले हरेक महिना १ हजार रुपैयाँ सम्मानस्वरुप उपलब्ध गराउँदै आएको छ ।”