Rumpum Advertisement

भारततिर इन्धन तस्करी, तीनजना पक्राउ

भारततिर इन्धन तस्करी, तीनजना पक्राउ

विराटनगर, १० मंसिर । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिइरहेका बेला नेपालबाट भारततिर इन्धन (पेट्रोलियम पदार्थ)को तस्करी भइरहेको पाइएको छ ।

कोरोना संक्रमणका कारण दुवै देशबीच आवतजावत बन्द गर्दै सीमा सिल गरिएको छ । सीमा सिल भएको अवस्थामा पनि इन्धनको तस्करी भइरहेको हो । नेपालबाट भारततिर डिजेल तस्करी गर्ने तीनजनालाई प्रहरीले बुधबार बिहान विराटनगर महानगरपालिका–११ केशलिया नहर छेउबाट पक्राउ गरेपछि तस्करीको रहस्य खुलेको हो ।

सुनसरीको हरिनगरा गाउँपालिका–६ का २५ वर्षीय सत्रुधन साह, ३० वर्षीय अजाम खान र ५० वर्षीय अकवल मियाँलाई प्रहरीले पक्राउ गरेको हो । प्लाष्टिकको ग्यालेनमा भरेर तीनवटा मोटरसाइकलमा भारततिर डिजेल लैजाँदै गरेको अवस्थामा उनीहरुलाई बिहान ८ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

पक्राउ परेकाहरुले मोटरसाइकलमा राखेर भारततिर लैजाँदै गरेको चार सय ३० लिटर डिजेल बरामद गरिएको एसपी खड्काले बताए । बरामद भएको डिजेल ३४ हजार चार सय रुपैयाँ मूल्य बराबरको रहेको उनको भनाइ छ । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपालमाभन्दा भारतमा प्रति लिटर २० देखि ३० रुपैयाँसम्म डिजेल महँगो छ । त्यही मौका छोपेर पेट्रोलियम पदार्थ (इन्धन)को तस्करी गर्नेहरु पछिल्लो समय सलबलाएको हुनसक्ने प्रहरीको भनाइ छ ।