विराटनगर, १० मंसिर । नर्वेजियन स्ट्राइकर इयर्लिङ ब्राउल्ट हालाण्डले दुई गोल गरेपछि बोरुसिया डर्टमुण्डले च्याम्पियन्स लिगमा सहज जित निकाल्यो । मंगलबार राति भएको समूह चरणको चौथो खेलमा डर्टमुण्डले बेल्जियमको क्लब ब्रुगमाथि ३–० गोलको सहज जित निकालेको हो ।
डर्टमुण्डको मैदामा घरेलु टोलीको जितमा हालाण्डले दुई गोल गर्दा जाडोन सान्चोले एक गोल गरे । हालाण्डले १८औं मिनेटमा र ६०औं मिनेटमा गोल गरेका थिए ।
यस गोलसँगै २० वर्षीय हालाण्डले च्याम्पियन्स लिगमा १२ खेलबाट १६ गोल गरे । र, गोल संख्यामा उनले ब्राजिलियन रोनाल्डो र फ्रेन्च स्टार तथा रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानलाई उछिने ।
रोनाल्डो र जिदानले च्याम्पियन्स लिगमा समान १४ गोल गरेका छन् । यस्तै डेभिड भिल्ला, मिरोस्लाभ क्लोजले पनि १४ नै गोल गरेका छन् ।
च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो हुन् । उनले १३२ गोल गरेका छन् भने दोस्रो स्थानमा रहेका लियोनल मेस्सीले ११८ गोल गरेका छन् । यसैगरी राउलले ७१, रोबर्ट लेवान्डोस्कीले ७०, करिम बेन्जेमाले ६७ गोल गरेका छन् ।
हालाण्डले गत मंगलबार मात्र २०२० को गोल्डेन बोय अवार्ड जितेका थिए । यस सिजन उनले च्याम्पियन्स लिगमा ४ खेल खेल्दा ६ गोल गरेका छन् ।