birat ribon

चर्चित नाटक ‘बोक्सीको घर’को कथामा फिल्म बनाउँदै केकी

Neuro
चर्चित नाटक ‘बोक्सीको घर’को कथामा फिल्म बनाउँदै केकी

विराटनगर, १० मंसिर । चर्चित अभिनेत्री केकी अधिकारीले नयाँ फिल्म निर्माण गर्ने भएकी छिन् ।

२०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’को कथामा केकीले फिल्म निर्माण गर्ने भएकी हुन् । सरिता गिरीको एकल अभिनय रहेको नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेकी हुन् । सुलक्षणकै लेखनमा तयार हुने ‘बोक्सीको घर’ फिल्मलाई सुलक्षणका साथै सुव्रतराज आचार्यले संयुक्तरुपमा निर्देशन गर्ने भएका छन् ।

cura insider

फिल्ममा अभिनेता गौरव पहारी र केकीको मुख्य भूमिका रहने पक्का भइसकेको छ । फिल्मका बाँकी कलाकारको छनोट भने अडिसनबाट हुने बताइएको छ । विगत डेढ महिनादेखि फिल्मको वर्कसप र प्रिप्रडक्सनको काम भइरहेको छ । आगामी साताबाट अडिसन खुला गरिने निर्माण टिमले जनाएको छ । चार महिनासम्म वर्कसप गरेपछि फिल्मको छायांकन सुरु गरिने भएको छ ।

समाजमै घटेका वा घटाइएका घटनाहरूमा आधारित रहेर निर्माण हुन लागेको फिल्मलाई बद्री अधिकारीले निर्माण गर्दैछन् भने फिल्मका कार्यकारी निर्माता विशाल भण्डारी हुन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’ र टेलिभिजन कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ पछि यो टिमले तेश्रो प्रोजेक्टका रूपमा ‘बोक्सीको घर’ निर्माण गर्न लागेको हो ।

jackson ribon