Rumpum Advertisement

सामान्य सोचेर गरिने यी गल्तीका कारण कोभिड फैलने सम्भावना बढ्दो

Neuro
सामान्य सोचेर गरिने यी गल्तीका कारण कोभिड फैलने सम्भावना बढ्दो

विराटनगर, १० मंसिर । मानिसहरूले कोरोना भाइरसको प्रसार रोक्नका लागि जारी गरेको दिशानिर्देशको पालना गर्न छोडेका छन् ।

यो पनि संक्रमण बढिरहेको पछाडिको एक कारण हो । भाइरस अझै केही समयका लागि रहने हुँदा सावधान र सतर्क नरहे आफ्नो र प्रियजनको जीवन जोखिममा पार्न सकिन्छ । लकडाउन हटाएपछि जीवन पुनः पहिलेको ट्रयाकमा फर्कँदै छ, तर, जनजीवन सामान्यमा फर्कनका लागि धेरै समय पनि लिन सक्छ । त्यसैले, भाइरसको प्रसारलाई फैलनबाट रोक्न तथा कम गर्नका लागि यी सामान्य गल्ती गर्नबाट जोगिनुपर्छ ।

१) सम्पर्कमा आएर लक्षण नदेखिए क्वारेन्टइनमा बस्नु पर्दैन : गल्तीले भाइरस संक्रमित कसैको सम्पर्कमा परेमा, १४ दिनका लागि अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्छ । सम्पर्कमा आएपछि लक्षणहरू देखाएको छ वा छैन भन्ने कुराले फरक पार्दैन, आफैंलाई अरूबाट अलग राखेर अन्यलाई सुरक्षित राख्न आवश्यक छ । धेरै व्यक्ति संक्रमित भए पनि एसिम्प्टोमेटिक हुन्छन्, तिनीहरूले थाहा नपाई पनि भाइरस अरूमा सार्न सक्छन् ।

२) भल्भ भएको मास्कको प्रयोग : भल्भ भएको मास्कबाट सास फेर्न सजिलो लाग्न सक्छ । तर, उक्त खुल्ला ठाउँले भाइरसलाई सजिलै पास गराउन सक्छ । श्वास बाहिर निकाल्ने र इनहेलिंग प्रक्रिया सजिलो बनाउनका लागि मास्कमा बनाइएको भल्भले हावालाई फिल्टर गर्दैन, जसले संक्रमणको जोखिम बढाउँछ । संक्रमित व्यक्तिले यस प्रकारको मास्क लगाएर अरू व्यक्तिको सम्पर्कमा आएमा संक्रमण सर्ने खतरा हुनसक्छ ।

३) सानो ठाउँमा अन्य मानिससँग भेटघाट : आफूले चिनेको वा नजिकको मानिस संक्रमण नभएको सोची उनीहरू माझ सुरक्षित महसुस हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन । अन्य मानिससँग भेट्दा छ फिटको दूरी अनिवार्य कायम गर्नुपर्छ, चाहे आफन्त, नजिकका बस्ने छिमेकी वा एकदम मिल्ने मित्र होस् । सम्भव भएसम्म सामाजिक भेलामा जानबाट जोगिनु नै उत्तम हुन्छ । सानो ठाउँमा धेरै जना बस्नुपरे परिवारका सबै सदस्यले सुरक्षित रहनका लागि आवश्यक सावधानी अपनाउनु पर्ने हुन्छ । अरुले सावधानी अपनाएको छ सोची आफूले लापरवाही गरेमा यसले नचाहिने परिणाम निम्त्याउन सक्छ ।

४) ज्वरो कोभिडको एक मात्र लक्षण हो : ज्वरो कोभिडको एक प्रमुख लक्षण हो, तर यो एकमात्र लक्षण भने होइन । गन्ध र स्वाद हराउनु, कमजोरी, खोकी, रुघा, पेटसम्बन्धी समस्या पनि संक्रमणको संकेत हुन् । भाइरसबाट संक्रमित भए पनि केही मानिसका शरीरको तापमान सामान्य हुन्छन् । ज्वरो नभएको खण्डमा अन्य संकेतलाई बेवास्ता भने गर्नु हुँदैन ।

५) भाइरसलाई नियन्त्रण गर्न मास्क लगाए मात्र पुग्छ : मास्क लगाउनु भाइरसबाट आफूलाई र अरूलाई बचाउने एक महत्वपूर्ण तरिका हो । तर, मास्कको प्रयोगले मात्र भाइरसलाई नियन्त्रण गर्न धेरै मद्दत गर्दैन । सामान्यतया छोइएका सयहलाई कीटाणुरहित गर्नु, नियमितरूपमा हात धुनु, छ फिटको सामाजिक दुरी कायम राख्नु, खोक्दा नाक र मुख छोप्नु, सेनिटाइजरको प्रयोग गर्नु पनि भाइरसलाई नियन्त्रण गर्ने महत्वपूर्ण उपाय हुन् ।