Rumpum Advertisement

बुधबारदेखि रामधुनीका सबै विद्यालय खुल्ने

बुधबारदेखि रामधुनीका सबै विद्यालय खुल्ने

इनरुवा, ९ मंसिर । सुनसरीको रामधुनी नगरपालिकाका विद्यालयमा बुधबारदेखि पठनपाठन खुल्ने भएको छ । गत बिहीबार कक्षा ७ भन्दा माथिल्ला कक्षा सञ्चालन हुनेगरी विद्यालय खोल्ने निर्णय रामधुनी नगर कार्यपालिकाले गरेको थियो ।

नगरपालिकाको उक्त निर्णयसँगै बुधबारदेखि विद्यालय खोल्ने तयारी भइरहेको छ । विद्यालय सञ्चालन गर्नलाई आफूहरूले सरकारी निर्णय पर्खिएर बसेको र बुधबारदेखि नै पठनपाठन सुचारु गरिने प्याब्सन रामधुनीका अध्यक्ष बाबुराम खड्काले जानकारी दिए ।

नगरपालिकाले कक्षा ७ भन्दा माथिल्ला कक्षा सञ्चालनको अनुमति दिएको भए पनि तल्ला कक्षा खोल्नेबारे कुनै निर्णय भएको छैन । केही विद्यालय सञ्चालकहरूले भने जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तल्ला कक्षाहरूसमेत खोल्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

नियमित अनुगमन गरिने, १५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइने

‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ जारी गर्दै शिक्षा मन्त्रालयलेसमेत स्थानीय सरकारलाई आफ्नो मातहतका विद्यालय खोल्ने बाटो खुल्ला गरिदिएसँगै रामधुनीले विद्यालय खोल्ने निर्णय गरेको हो ।

विद्यालय सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने र एउटा कोठामा बढीमा १५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइने निर्णयसमेत कार्यपालिकाले गरेको मेयर जयप्रकाश चौधरीले जानकारी दिए ।

जनस्वास्थ्यका मापदण्ड सम्बन्धित विद्यालयले अनिवार्य पालना गरेको हुनुपर्ने र त्यसका लागि नगरपालिकाले नियमित अनुगमनको समेत व्यवस्था गर्ने मेयर चौधरीको भनाइ छ ।