birat ribon

त्रिवि इतिहासमा पहिलोपल्ट १७ विषयको नतिजा ‘निल’

Neuro
त्रिवि इतिहासमा पहिलोपल्ट १७ विषयको नतिजा ‘निल’

बबी शर्मा

cura insider

काठमाडौँ, ९ मंसिर । गणित विषयमा खुला तीन, महिला एक, आदिवासी–जनजाति एक गरी पाँच उपप्राध्यापक दरबन्दीमा पदपूर्तिको माग भएकोमा एक जना पनि उत्तीर्ण हुन सकेनन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सो मागअन्तर्गत गत वर्ष एक सय १२ जनाले परीक्षा दिएका थिए ।

कात्तिक २६ गते प्रकाशित सेवा आयोगको नतिजाअनुसार उत्तीर्ण प्रतिशत शून्य भएका विषयहरूमा इन्जिनियरिङ, गणित, विज्ञान, शिक्षालगायत १७ विषय छन् । त्रिविको इतिहासमै पहिलोपल्ट उपप्राध्यापक पदको लिखित परीक्षामा नतिजा ‘निल’ भएको हो ।

फुड–साइन्स, जनप्रशासन, सामाजिक अध्ययन, शैक्षिक योजना तथा व्यवस्थापन, भूगोल, अर्थशास्त्र, संस्कृति, मनोविज्ञान, वाइल्ड–लाइभ कन्जरभेसन, लाइभ–स्टक प्रोडक्सन टेक्नोलोजी, मेडिकल बायो–केमेस्ट्री, पशुपालन विषयमा समेत नतिजा शून्य छ ।

त्रिविले कम्प्युटर विज्ञान विषयमा सबैभन्दा बढी १६ दरबन्दीमा उपप्राध्यापक माग गरेको थियो तर मागअनुसार आवेदन परेन । १२ जनाले परीक्षा दिए, जसमा एक जना पनि उत्तीर्ण हुन सकेनन् । वाटर रिसोर्स इन्जिनियरिङ, इन्भारोमेन्टल इन्जिनियरिङ, बायो–केमेस्ट्रीमा तीन–तीन उपप्राध्यापक माग गरिएको थियो, जसमा १२ जनाले लिखित परीक्षा दिएका दिए । तर यी विषयको नतिजा पनि ‘निल’ भयो ।

१७ विषयमा अपेक्षित उपप्राध्यापक पाउन नसकेको त्रिविको सेवा आयोग परीक्षाका २२ विषयमा दरबन्दीभन्दा कम उम्मेदवार उत्तीर्ण भएका छन् । यसरी अधिकतर विषयमा नतिजा शून्य भएपछि त्रिवि उपप्राध्यापकमा दरबन्दीअनुसारको पदपूर्ति कार्य प्रभावित भएको छ ।

गत वर्ष एक सय ६१ विषयका उपप्राध्यापक खोजी गर्दै त्रिवि सेवा आयोगले परीक्षा लिएको थियो । कात्तिक २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालित सो परीक्षामा पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी थिए, जसमध्ये पाँच सय १३ जनामात्र उत्तीर्ण भएका छन् ।

व्यवस्थापन सङ्कायअन्तर्गत ४६ दरबन्दीका लागि चार सय ९६ उम्मेदवारले परीक्षा दिएकोमा आठ जनामात्र उत्तीर्ण भए । भौतिक–शास्त्रअन्तर्गत खुला नौ, महिला एक, आदिवासी–जनजाति एक, मधेसी एक, दलित एक गरी १८ उपप्राध्यापक माग भएको थियो तर आठ जनाभन्दा बढी उत्तीर्ण हुन सकेनन् । सो विषयमा तीन सय पाँच परीक्षार्थी थिए । रसायन–शास्त्रमा १३ दरबन्दीका लागि दुई सय ६ परीक्षार्थीले प्रतिस्पर्धा गरे पनि पाँच जनामात्र सफल मानिए ।

अङ्ग्रेजी विषयमा सबैभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । अङ्ग्रेजीमा १० दरबन्दीका लागि तीन सय तीन जनाले लिखित परीक्षा दिएका थिए, जसमा १७ जना उत्तीर्ण भए । अर्थशास्त्रमा आठ दरबन्दीका लागि एक सय १८ मा ११ जना तथा नेपालीमा सात दरबन्दीका लागि एक सय ८५ प्रतिस्पर्धीमध्ये ११ जनामात्र पदपूर्तिलायक भए ।

आयोगले पहिचान खुल्नेगरी उत्तरपुस्तिकामा परीक्षासँग असम्बन्धित कुराहरू लेख्ने तीन सय ३० जनाको परीक्षा रद्ध गरेको छ । यसअघि विभिन्न दबाबका कारण नतिजा प्रकाशन प्रभावित हुने गरे पनि यसपटक मर्यादित रूपमा परीक्षा सञ्चालन र विशुद्ध रूपमा परीक्षाफल सार्वजनिक गरेको त्रिवि सेवा आयोग पदाधिकारीको दाबी छ ।

आयोगका प्रशासन प्रमुख केदार ढकालले यस वर्ष कुनै पनि नेता तथा नातागोताको सिफारिसले काम नगरेको बताए । सेवा आयोगले यस पटक उत्तरपुस्तिकाको डबल–कोडिङ र डिकोडिङ गर्न लोकसेवा आयोगका कर्मचारीको सहयोग लिएकाले ‘विशुद्ध’ नतिजा आएको ढकालको भनाइ छ ।

‘यसपटक त्रिविका कर्मचारीबाट परीक्षासम्बन्धी काममा खासै सहयोग लिइएन,’ प्रमुख ढकालले भने, ‘डिग्री हासिल गरेका उम्मेदवारहरू यति धेरै सङ्ख्यामा किन असफल भए यसको गम्भीर समीक्षा त्रिविले गर्नुपर्छ ।’

उपप्राध्यापक पदपूर्तिसम्बन्धी शून्य नतिजा प्रकाशनपछि शैक्षिक–वृत्तमा खेलाबैला मच्चिएको त छ नै त्रिवि सेवा आयोगद्वारा प्रकाशित विगतको परीक्षाफलको विश्वसनीयतामा प्रश्नचिन्हसमेत लागेको छ ।

jackson ribon