Rumpum Advertisement

विराटनगर विमानस्थल वरिपरिका स्थानीयबासी भन्छन्, ‘मुआब्जाको नाममा सुकुम्बासी नबनाइयोस्’

विराटनगर विमानस्थल वरिपरिका स्थानीयबासी भन्छन्, ‘मुआब्जाको नाममा सुकुम्बासी नबनाइयोस्’

विराटनगर, ९ मंसिर । विराटनगर–४ की बिन्दा कार्कीको घर विराटनगर विमानस्थलको उत्तरपट्टिको क्षेत्रमा पर्छ । दस धुर जग्गामा उनको सानो घर छ । केही दिनअघि मन्त्रीपरिषद्ले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन स्तरोन्नति गर्ने र त्यसका लागि आवश्यक पर्ने थप एक सय २६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्ने समाचार बाहिर आएपछि अहिले उनी अन्यौलमा छिन् । विमानस्थल स्तरोन्नतिका लागि अधिग्रहणमा आफ्नो पनि जग्गा पर्ने हो कि भन्ने उनलाई पीर छ ।

कार्कीकै छिमेकी शंकर लाल मुखिया पनि अहिले दोधारमा छन् । सानो करेसाबारीसँगै उनले १५ धुर जग्गामा घर बनाएका छन् । विमानस्थलको रनवेको लम्बाई बढाउने कुरा आफूले सुनेको भए पनि त्यसका लागि विमानस्थलको कुन भागपट्टिको जग्गा अधिग्रहण हुन लागेकोप्रति जानकार नभएकाले झन् अन्योल थपिएको उनी बताउँछन् ।

कार्की र मुखिया मात्र नभई विमानस्थल छेउमा घर बनाउने तयारीमा रहेका चिरञ्जीवी चापागाईं पनि दोधारमा छन् । कोशी अनलाइनसँग बोल्दै उनले भने, ‘बल्लबल्ल जमिन जोडेर घर बनाउने तयारीमा थिएँ, अब अहिले अन्यौलमा छु ।’

यी तीन जना त विराटनगर विमानस्थलवरिपरि रहेका स्थानीयबासीमध्येका केही प्रतिनिधि पात्र मात्रै हुन् । गएको शुक्रबार अर्थात् मंसिर ५ गते मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले विराटनगर विमानस्थलका लागि १ सय २६ दशमलव ४६ बिघा जग्गा अधिग्रहण गर्न प्राधिकरणलाई स्वीकृति दिएको बताएपछि यतिबेला विमानस्थलवरपर बसिरहेका स्थानीयहरूमा अन्यौलता बढ्न थालेको छ ।

विमानस्थलको कुन दिशामा कति क्षेत्रफल बढ्ने थाहा नभएकाले आफूहरूलाई झनै गाह्रो भएको स्थानीय चिरञ्जीवी चापागाईंले बताए । ‘भर्खरै मात्र विराटनगर महानगरपालिकाबाट घर निर्माणका लागि नक्सा पास गरेर आएको छु,’ आफ्नो समस्या सुनाउँदै उनले भने, ‘मन्त्रिपरिषद्को निर्णयपछि ममा अन्यौलता थपिएको छ, के गर्ने–के नगर्ने अवस्था भएको छ ।’ विराटनगर विमानस्थल कार्यालयसँग परामर्श लिन जाँदा आफ्नो जग्गासम्म अधिग्रहण नहुने जानकारी पाएको भए पनि अन्यौलता कायम नै रहेको चापागाईं बताउँछन् ।

स्थानीय बिन्दा कार्कीले भने यदि सरकारले जग्गा अधिग्रहण गर्ने हो भने आफूहरूलाई घर र जग्गाको उचित मूल्य दिनुपर्ने बताउँछिन् । ‘मानिसले धेरै मेहनत गरेर घर र जग्गा जोडेका हुन्छन्, यस्तो महँगी छ । सरकारले आफूखुशी मूल्य निर्धारण गरेर खरिद गर्न खोज्यो भने त हामी सुकुम्बासी भइहाल्छौ नि ! यहाँको घर, जग्गा छाडेपछि नयाँ ठाउँमा पनि जग्गा र घर बनाउन सक्नेगरी सरकारले मूल्य दिनु पर्‍यो,’ कार्कीले भनिन् ।

अर्का स्थानीय शंकर लाल मुखिया पनि सरकारले घर र जग्गाको उचित मूल्यांकन गर्नुपर्ने विषयमा जोड दिन्छन् । ‘सरकारी मूल्यांकनअनुसार यहाँको जग्गा आठ लाख रुपैयाँ कठ्ठा छ जबकि यता धुरको अढाई लाख रुपैंयाँले जग्गा किनबेच भइरहेको छ,’ मुखिया भन्छन्, ‘सरकारको मूल्यांकन र किनबेच हुने दर फरक हुने भएकाले सरकारले उचित मूल्यांकन गर्दै मुआब्जा वितरण गर्नुपर्छ ।’

‘जग्गा धनीलाई मर्का नपर्ने हिसाबले मूल्य निर्धारण गरिन्छ’

विराटनगर नागरिक उड्डयन कार्यालयका निर्देशक उद्धवप्रसाद तिमल्सेना अधिग्रहण हुने जग्गाको जग्गाधनीलाई मर्का नपर्ने हिसाबले मूल्य निर्धारण गरिने बताउँछन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्त्वमा मुआब्जा निर्धारण समिति गठन हुने र त्यसले नै मूल्य निर्धारण गर्ने निर्देशक तिमल्सेनाले बताए ।

‘प्रमुख जिल्ला अधिकारीको नेतृत्त्वमा स्थानीय निकाय, मालपोत कार्यालय, नागरिक उड्डयन कार्यालय, नापी विभाग र आवश्यक सरोकारवाला व्यक्तिहरू सम्मेलित समितिले सरकारी दर रेट र चलनचल्तीका मूल्यलाई आधारमा राखेर उचित मूल्य निर्धारण गर्छ,’ निर्देशक तिमल्सेना भन्छन्, ‘तर सबै जग्गाको मूल्य बराबर हुन्छ भन्ने हुँदैन । बाटो, विकास निर्माणलगायत पूर्वाधारहरूलाई ध्यानमा राख्दै मुआब्जा निर्धारण समितिले नै जग्गाको मूल्यांकन गर्छ ।’

‘विकासमा बाधा पुर्‍याउँदैनौँ’

आफ्नो जग्गा र आफूले बनाएको घरसँग छुट्टै आत्मीयता हुने भए पनि सरकारले उचित मूल्यांकन गरेर मुआब्जा वितरण गर्‍यो भने विराटनगर विमानस्थल विस्तारमा आफूहरूले कुनै पनि प्रकारको बाधा उत्पन्न नगराउने स्थानीयहरू बताउँछन् । स्थानीय बिन्दा कार्की भन्छिन्, ‘विराटनगरमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्नु आफैंमा उपलब्धी हो । यसमा साथ दिन हामीहरू तयार छौंँ तर सरकारले पनि हामी जनतालाई उठिबास लाग्नेगरी कुनै पनि किसिमको कदम नचालोस् ।’

कार्कीको भनाइमा स्थानीयद्वय मुखिया र चापागाईं पनि सहमत छन् । सरकारले गरेको विकास निर्माणमा कोही पनि बाधक बन्न नचाहने भएकाले सरकारले मुआब्जा वितरण गर्दा घर र जग्गाको उचित मूल्यांकन गरिदियोस् भन्ने उनीहरूको भनाइ छ ।