Rumpum Advertisement

सबै देशका लागि उडान अनुमति दिने सीसीएमसीको निर्णय

सबै देशका लागि उडान अनुमति दिने सीसीएमसीको निर्णय

विराटनगर, ९ मंसिर । कोरोना संक्रमणको जोखिम मुल्याङकन गरी सबै देशमा उडान अनुमति दिने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेकाे छ ।

मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।

संक्रमणको जोखिम मुल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।

‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मुल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकता अनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ ।’ उनले भने ।

विभिन्न सरकारी कार्यालयहरुमा एक दुई जनामा संक्रमण पोजेटिभ देखिने वित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृति बढेकाले त्यस्तो नगर्न पनि सीसीएमसीले निर्देशन दिएको छ ।

संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको उनले बताए । संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । यद्यपी सीसीएमसीले तत्काल निषेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन् । संक्रमणको उच्च रहेको सिमित स्थानलाई सिल गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले बताए ।