Rumpum Advertisement

सिटीले मेस्सी नकिन्ने

Neuro
सिटीले मेस्सी नकिन्ने

विराटनगर, ९ मंसिर । इंग्लिस क्लब म्यानचेस्टर सिटीले अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सी अनुबन्ध गर्ने दोडबाट पछि सरेको छ ।

‘स्काई स्पोर्ट्स’ अनुसार बार्सिलोनाका फरवार्ड मेस्सीको उमेर र पारिश्रमिकको विषय देखाउँदै उनलाई अनुबन्ध गर्ने दौडबाट सिटी पछि हटेको हो ।

केही समययता ३३ वर्षीय मेस्सीले क्याप नोउ छोड्ने चर्चा चलिरहेको छ । सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सी पेप ग्वार्डीओला नेतृत्त्वको क्लब सिटीसँग जोडिएका थिए । सिटीले पनि मेस्सी अनुबन्ध गर्न चाहेको रिपोर्ट बाहिरिएको थियो ।

मेस्सी र बार्सिलोनाबीचको सम्झौता अर्को समरमा सकिँदैछ । लामो समयदेखि बार्सिलोनाबाट खेलिरहेका मेस्सीले सम्झौता सकिएसँगै क्लब छोड्ने विभिन्न रिपोर्टहरूको दाबी थियो ।

बार्सिलोना छोडेमा मेस्सीको विकल्प नै सिटी भएको र मेस्सी र ग्वार्डीओलाको पुनर्मिलन हुने धेरैले अनुमान गरेका थिए ।

तर, सिटीले भने मेस्सीका लागि कुनै अफर नगर्ने बताइएको छ । स्काई स्पोर्ट्सको रिपोर्टअनुसार २०२१ को समरमा सिटीले मेस्सीलाई कुनै अफर नगर्ने भएको छ ।

मेस्सीको पाको हुँदै गएको उमेर र उनले लिने चर्को पारिश्रमिकका कारण सिटी मेस्सी अनुबन्ध गर्ने योजनाबाट पछि हटेको जनाइएको छ । अर्को वर्ष मेस्सी ३४ वर्ष लाग्दैछन् ।

उमेरअनुसार उनको क्षमतामा शंका नहोला तर मेस्सीका लागि ठूलो रकम खर्च गर्नुपर्ने भएका कारण पनि सिटीले उनलाई प्रस्ताव नगर्ने भएको उल्लेख गरिएको छ ।

‘मैले पाएको सूचनाअनुसार म्यानचेस्टर सिटीले मेस्सीलाई अफर राख्नेछैन’, खेलाडीका बारेमा जानकारी राख्ने एक स्रोतले स्काई स्पोर्ट्सलाई भनेको छ, ‘मैले हालै थाहा पाएको जानकारीअनुसार मेस्सीका लागि सिटीको ढोका बन्द भइसकेको छ । यसमा दुई कारण छन्ः मेस्सीको उमेर र कोरोना महामारीबाट क्लबमा परेको आर्थिक प्रभावका कारण ।’