Rumpum Advertisement

कोरोना महामारीबीच सुरु भयो कक्षा १२ को परीक्षा

कोरोना महामारीबीच सुरु भयो कक्षा १२ को परीक्षा

विराटनगर, ९ मंसिर । कोरोना महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा स्वास्थ्य सम्बन्धी आवश्यक सुरक्षा मापदण्डको पालना गर्दै मंगलबार (आज)बाट सुरु भएको छ ।

परीक्षा गत वैशाखमै हुनुपर्ने हो । तर कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि परीक्षा स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले देशभरका चार लाख ३२ हजार पाँच सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन लागेको हो । बोर्डले ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिनने छ । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने बोर्डले जनाएको छ ।

बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टाको हुनेछ । स्वास्थ्य सुरक्षा सम्बन्धी आवश्यक मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिएका कारण ढुक्कसँग परीक्षामा सहभागी हुन बोर्डले परीक्षार्थीलाई आग्रह गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले पनि घरमा रहँदा होस् वा परीक्षा केन्द्रमा आउ–जाउ गर्दा होस् कोभिडविरुद्धका मापदण्ड सही ढंगले पालना गर्न परीक्षार्थीहरुलाई आग्रह गरेका छन् ।

परीक्षार्थीलाई कम्तीमा दुई मिटरको दूरी कायम गरेर र एउटा कोठामा बढीमा २० जनालाई राखेर परीक्षा लिइने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ । उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ । परीक्षा केन्द्रमा सेनिटाइजरकोसमेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सुरक्षाको प्रबन्ध मिलाउने तथा परीक्षार्थीहरुलाई आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । परीक्षा मंसिर १६ गते सकिने छ ।