Rumpum Advertisement

च्याम्पियन्स लिग : आज हुने खेलबारे सम्पूर्ण जानकारी

च्याम्पियन्स लिग : आज हुने खेलबारे सम्पूर्ण जानकारी

विराटनगर, ९ मंसिर । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज आठ खेल हुँदैछन् । ग्रुप स्टेजअन्तर्गत चौथो चरणको खेलमा आज १६ वटा टोलीहरू प्रतिस्पर्धामा छन् ।

आज इटालियन च्याम्पियन क्लब युभेन्टसका साथै फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी), स्पेनिस क्लब बार्सिलोना, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, जर्मन क्लब बोरुसिया डर्टमुण्ड, चेल्सी, सेभिल्ला, आरबी लेइपिज र लाजियो जस्ता ठूला टोली प्रतिस्पर्धामा छन् ।

सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टसले हंगेरियन क्लब फेरेन्भारोससँग खेल्दैछ । राति १ः४५ बजे हुने सो खेल युभेन्टसको मैदानमा हुनेछ । यस सिजनको पहिलो भेटमा युभेन्टसले फेरेन्भारोसलाई उसैको मैदानमा ४–१ गोलले हराएको थियो ।

युभेन्टस समूह ‘जी’को दोस्रो स्थानमा छ । ३ खेल खेलेको युभेन्टससँग ६ अंक छ । फरेन्भारोस भने १ अंकका साथ चौथो स्थानमा छ ।

सोही समूहको बार्सिलोनाले राति १ः४५ बजे युक्रेनको क्लब डायनामो किभसँग खेल्दैछ । किभको मैदानमा हुने सो खेलमा बार्सिलोना शीर्ष स्थान कायमै राख्ने दाउमा छ । हाल बार्सिलोना ९ अंकका साथ शीर्ष स्थानमा छ भने किभ १ अंकका साथ तेस्रो स्थानमा छ ।

सिजनको पहिलो भेटमा बार्सिलोनाले किभलाई आफ्नै मैदानमा २–१ गोलले हराएको थियो ।

आजको अर्को खेलमा लिग वान च्याम्पियन क्लब पीएसजीले बुन्डेसलिगा क्लब लेइपिजसँग खेल्दैछ । राति १ः४५ बजे हुने यो खेल पीएसजीको मैदानमा हुँदैछ । जसमा ऊ लेइपिजसँग हारको बदला लिने दाउमा छ ।

पछिल्लो भेटमा पीएसजी लेइपिजसँग २–१ गोलले पराजित भएको थियो । तथापि, उसले अघिल्लो सिजनको च्याम्पियन्स लिगमा लेइपिजलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेको थियो ।

पीएसजी समूह ‘एच’को तेस्रो स्थानमा छ । पीएसजीले तीनमध्ये एक खेलमा जित निकाल्दै ३ अंक जोडेको छ । लेइपिज भने ६ अंकका साथ दोस्रो स्थानमा छ ।

सोही समूहको युनाइटेड र स्तानबुल बसाकसेरले प्रतिस्पर्धा गर्दैछन् । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुने यो खेल राति १ः४५ बजे नै हुनेछ । यसअघिको भेटमा युनाइटेडले बसाकसेरसँग २–१ गोलको हार ब्यहोरेको थियो ।

सोही समय समूह ‘एफ’को डर्टमुण्डले बेल्जियको क्लब ब्रुगसँग खेल्दैछ । डर्टमुण्डको मैदानमा हुने यस खेलमा घरेलु टोली ब्रुगमाथि लगातार जित निकाल्ने दाउमा छ । यसअघिको भेटमा उसले ३–० गोलको जित दर्ता गरेको थियो ।

डर्टमुण्ड ६ अंकसहित शीर्ष स्थानमा छ भने ब्रुग ४ अंकका साथ तेस्रो स्थानमा छ ।

सोही समूहका लाजियो र जेनित पनि प्रतिस्पर्धामा छन् । लाजियोको मैदानमा हुने यो खेल पनि राति १ः४५ बजे नै हुनेछ । लाजियो ५ अंकसहित दोस्रो स्थानमा छ भने जेनित १ अंकका साथ चौथो स्थानमा छ । अघिल्लो भेटमा यी दुईले १–१ गोलको बराबरी खेलेका थिए ।

यसैगरी आज इंग्लिस क्लब चेल्सीले फ्रान्सको रेन्नेससँग उसैको मैदानमा खेल्दैछ । यो खेल राति ११ः४० बजे हुनेछ । पछिल्लो भेटमा चेल्सीले रेन्नेसमाथि ३–० गोलको जित दर्ता गरेको थियो ।

चेल्सी ७ अंकसहित समूह ‘ई’को शीर्ष स्थानमा छ भने रेन्नेस १ अंकका साथ पुछारमा छ ।

सोही समूहका सेभिल्ला र क्रास्नोडरले पनि प्रतिस्पर्धा गर्दैछन् । ११ः४० बजे नै हुने यो खेल क्रास्नोडरको मैदानमा हुनेछ । ७ अंक भएको सेभिल्ला दोस्रो स्थानमा छ भने क्रास्नोडर १ अंकका साथ तेस्रो स्थानमा छ ।

यसअघिको भेटमा सेभिल्लाले ३–२ गोलको जित निकालेको थियो ।