Rumpum Advertisement

‘सरकार ढल्दैन र देशलाई गलत बाटोमा जान दिइन्नँ’

Neuro
‘सरकार ढल्दैन र देशलाई गलत बाटोमा जान दिइन्नँ’

विराटनगर, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गलत बाटोमा जान नदिने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्रीले विभिन्न कदम चाल्न सक्ने अनावश्यक अड्कलबाजी भइरहेको समयमा प्रम ओलीले मुलुकलाई सही ट्र्याकमा हिँडाउन कुनै प्रकारको भ्रमको पछि नलाग्नसमेत आग्रह गरेका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सामा स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गाउँदेखि सहरसम्मै विकासको मूल फुटाउने दाबी गरे ।

उनले सरकारको राम्रो काम देखेर केही पक्ष अत्तालिए पनि सरकार विचलित नभई मुलुकको प्रगति र समृद्धिमा अघि बढ्ने जिकिर गरे । प्रम ओलीले कहिले पार्टी अध्यक्षविरुद्ध र कहिले प्रधानमन्त्रीविरुद्ध सरकार ढलिहाल्छ भन्ने प्रचार गराएर मुलुकमा अस्थिरता सिर्जना गर्न खोजिएको भन्दै त्यस्ता प्रचारविरुद्ध सचेत रहन आग्रह गरे । देशमा स्थिरता आउने भएर केही तत्वहरू आत्तिएको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार नढल्ने र गुमेका भूमि फिर्ता लिइने पनि बताए । ओलीले लिम्पियाधुरा, लिपुलेक जस्ता जमिन यो सरकारले फिर्ता ल्याउँछ र लोकप्रियता बढ्छ भनेर केही मानिस आत्तिएको बताउँदै देशलाई गलत बाटोमा जान नदिने र गुमेको भूमि फिर्ता गराएरै छोड्ने थप प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री ओलीले घुन्सा फाउन्डेसन भवनको उद्घाटन गरेका थिए । त्यस्तै, प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्सा र ग्याब्लाका १० जना बालबालिकालाई न्यानो कपडा ज्याकेट वितरण गरिन् भने घुन्सा आधारभूत विद्यालयलाई ५ लाख रुपैयाँ प्रदान गर्दै प्रत्येक वर्ष १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अनुरोध गरिन् ।

प्रधानमन्त्री ओलीले स्थानीयको सबै माग सरकारले पूरा गर्ने पनि आश्वासन व्यक्त गरे । साथै उनले गलैंचा बुनाइको अवलोकनसमेत गरेका थिए । भ्रमणमा ओलीसँगै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईसमेत सहभागी भएका थिए । आजको राजधानी दैनिकमा समाचार छ