Rumpum Advertisement

चन्दा उठाएर अस्पताल भर्ना, पैसा नहुँदा नोबेलले दिएन शव

Neuro
चन्दा उठाएर अस्पताल भर्ना, पैसा नहुँदा नोबेलले दिएन शव

विराटनगर, ८ मंसिर । विराटनगरको नोबेल मेडिकल कलेजले उपचारका क्रममा मृत्यु भएका एक व्यक्तिको शव दुई दिनसम्म रोकेको छ । स्थानीयले चन्दा उठाएर उपचारका लागि भर्ना गरेका केराबारी गाउँपालिका–९ बेलचौरीका युवक बिक्की ऋषिदेवको शव दुई दिन रोकेको हो ।

बिपन्न परिवारका बिक्कीलाई स्थानीयले चन्दा उठाएर नोबेलमा अस्पताल भर्ना गराएका थिए । शुक्रबार शल्यक्रिया गरेका उनको शनिबार मृत्यु भएको थियो । मृत्युपछि उपचारमा लागेको शुल्क नतिरेसम्म शव नदिने भन्दै नोबेलले दुई दिन रोकेर राखेको हो ।

केही दिनअघि भर्ना भएका बिक्कीको शुक्रबार टाउकोको शुल्यक्रिया भएको थियो । शल्यक्रिया असफल भएपछि शनिबार उनको मृत्यु भयो । मृत्युपछि छिमेकीले शव दिन अस्पताललाई आग्रह गरे । तर अस्पतालले छुट नदिने भन्दै मृतकको शव लैजान दिएन ।

‘बिक्कीको उपचारका लागि चन्दा उठाएर अस्पताल भर्ना गरेका थियौं,’ नेकपा केराबारीका नेता राम कार्कीले भने, ‘उपचारमा उठेको रकममध्ये ५५ हजार रुपैयाँ पुगेन, छुट गर्न आग्रह गर्दा अस्पतालले मानेन ।’

आइतबार शव लिन आएका छिमेकीलाई शव नदिएपछि रित्तो हात फर्किएको उनले बताए । सोमबार शुल्क तिरेर शव लगेको उनले बताए ।

बिक्कीको टाउकोको शल्यक्रियाका लागि एकलाख ८२ हजार २०० रुपैयाँ बिल उठेको थियो । सो रकममध्ये ५८ हजार रुपैयाँ विपन्न नागरिक सहायता कोषबाट जुट्यो । ३८ हजार रुपैयाँ चन्दा उठाएर अग्रिम बुझाएका कारण ५५ हजार रुपैयाँ पुगेन् ।

अस्पतालले छुट नदिएपछि ५५ हजार रुपैयाँको चेक दिएर शव लैजान्छु भन्दा पनि आइतबार शव नदिएको कार्कीले बताए ।

‘चन्दा उठाएको पैसाले नपुगेपछि अस्पताल पुगेका साथीहरूले चेक दिएर शव ल्याउन खोज्दा अस्पतालले मानेन,’ उनले भने, ‘सोमबार पुनः चन्दा उठाएर अस्पताललाई तिरियो ।’ उनका अनुसार बिक्कीको उपचारका लागि बिक्की बचाउ अभियान चलाइएको थियो ।

यता, नोबेल मेडिकल कलेजका प्रबन्धक नरायण दाहालले बिक्कीको मृत्युबारे आफूलाई जानकारी नभएको बताए । ‘यो विषयमा त मलाई जानकारी भएन,’ उनले भने, ‘अस्पतालमा एक पटक बुझ्नुपर्छ ।’