birat ribon

घरमै चाहिन्छ अक्सिजन, आपूर्ति गर्न धौधौ

Neuro
घरमै चाहिन्छ अक्सिजन, आपूर्ति गर्न धौधौ

विराटनगर, ८ मंसिर । कोभिड १९ संक्रमणले स्वासप्रश्वासमा समस्या बढ्न थालेसँगै जीवनदायी अक्सिजनको खपत बढेको छ । अस्पतालमा भर्ना हुनेमात्र नभएर घरमा बसेका संक्रमितले पनि अक्सिजन प्रयोग गरेसँगै माग बढेको हो ।

संक्रमितको उपचार गर्ने अस्पतालमा यसको खपत झनै बढेर गएको छ । कोभिड १९ संक्रमणपछि गम्भीर अवस्था सिर्जना हुनेको संख्या बढेसँगै अक्सिजनको माग बढेर गएको कोशी अस्पताल विराटनगरका सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए । सामान्य उपचारमा भन्दा कोभिड संक्रमितको उपचार गर्ने अस्पतालमा यसको खपत बढेर गएको उनले बताए ।

cura insider

कोशीको कोभिड १९ उपचार केन्द्रमा पछिल्लो समय दैनिक एक सयको हाराहारीमा ठूलो (६० केजी) सिलिन्डर खपत हुने गरेको छ ।

कोभिड संक्रमण गम्भीर प्रकृतिका बिरामीको संख्या बढेसँगै अक्सिजनको खपत बढेको केन्द्रका व्यवस्थापक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । केन्द्रमा बिरामीको चाप बढेसँगै अक्सिजनसहितका २ सय शैय्या थप्ने काम पनि भइरहेको उनले जानकारी दिए ।

कोशी कोभिड अस्पताललाई अक्सिजन उत्पादन गर्ने दुई उद्योगले आपूर्ति गरिरहेका छन् । कोशी कोभिड १९ उपचार केन्द्रलाई झोराहाटमा रहेको मारुती अक्सिजन उद्योग र खनारमा उद्योग रहेको विनायक अक्सिजन उद्योगले आपूर्ति गरिरहेका छन् ।

विनायकले ७० वटा र मारुतीले ५० वटा ठूला सिलिन्डर अक्सिजन दैनिक निर्यात गरिरहेका केन्द्रले जनाएको छ ।

संक्रमण फैलिएसँगै अस्पताल तथा व्यक्तिगतरुपमा पनि अक्सिजनको माग बढेर गएको छ । माग बढेका कारण उद्योगले अक्सिजनको माग धान्न २४ सै घण्टा उद्योग सञ्चालन गरिरहेका छन् ।
ठूलो सिलिन्डर अस्पतालमा प्रयोग हुने भए पनि सानो (७ केजी)को व्यक्तिगतरुपमा प्रयोग गर्न लैजाने गरेका छन् ।

विराटनगर क्षेत्रमा अक्सिजन उत्पादन गर्ने उद्योगहरुले आफैं बिक्री वितरण गर्दै आएका छन् । सबै उद्योगहरुले आफ्नै कम्पनीमार्फत् बिक्री गरिरहेको हिमाल अक्सिजनका व्यवस्थापक केदार श्रेष्ठले जानकारी दिए ।

अहिलेको अवस्थामा सर्वसाधारणलाई अक्सिजनको आवश्यकता परे उद्योगहरुमा सम्पर्क राख्नु पर्ने हुन्छ । उद्योगभन्दा टाढा पर्ने सहरहरुमा भने डिलरको समेत व्यवस्था गरेका छन् ।

सर्वसाधारणलाई ठूलो सिलिन्डरको पाँच सय ५० र सानोको दुई सय ५० रुपैयाँ पर्छ । उद्योगका अनुसार मूल्यमा केही तलमाथि हुनसक्ने हिमाल अक्सिजनका व्यवस्थापक श्रेष्ठले बताए । उनका अनुसार उद्योगको क्षमता, उत्पादन समयको लागत, ढुवानी र गुणस्तरले समेत मूल्यलाई फरक पार्ने उनले बताए । साथै व्यक्तिगतरुपमा लानेले धरौटीसमेत राख्नु पर्ने हुन्छ ।

विराटनगरमा विनायक अक्सिजन, हिमाल अक्सिजन, दुर्गा अक्सिजन, पाथीभरा अक्सिजन र मारुती अक्सिजन उद्योगले अक्सिजन आपूर्ति गर्दै आएका छन् ।

jackson ribon