Rumpum Advertisement

काठमाडौं महानगरले भोलिदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

काठमाडौं महानगरले भोलिदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

काठमाडौ, ६ मंसिर । काठमाडौँ महानगरपालिकाले भोलि (आइतबार) देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गर्ने भएको छ ।

नेपाल सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरि सूचारु गर्न लागिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् ।

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा उपस्थित भएका मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै भोलिदेखि पुनः स्वाब संकलनको कार्य सुचारु गर्न लागिएको बताए ।

यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनले बताए ।

काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरे ।

यस्तै उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताए । अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णयअनुसार हुने पनि मेयर शाक्यले बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ