Rumpum Advertisement
Dazzu

भोट माग्न गएजस्तै कोरोना रोकथामका लागि जनप्रतिनिधि घरघर पुग्नुपर्छ : तिमिल्सिना

भोट माग्न गएजस्तै कोरोना रोकथामका लागि जनप्रतिनिधि घरघर पुग्नुपर्छ : तिमिल्सिना

काठमाडौ, ६ मंसिर । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् ।

‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोट माग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड रोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताए ।

यस्तै राजनीतिक दलहरुले पनि आफ्ना भातृसंगठनहरुलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुपर्ने बताएका छन् । यस्तो कार्यले राजनीतिक व्यक्तिको राजनीतिक भविष्यमाथि समेत बलियो आधार तयार हुने उनको भनाइ छ ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नका लागि पनि घरदैलोमै पुगेर सचेतना जगाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइए पनि संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजारजनाको परीक्षण भइसकेको बताए । तर पछिल्लो परिस्थितिअनुसार कुल जनसंख्याको २ प्रतिशतसम्म संक्रमण हुने अनुमान सरकारले गरेको पनि मन्त्री ढकालले बताए ।

अबको चार महिनामा करिब एक लाख ४८ हजारजनामा संक्रमण पुष्टि हुन सक्ने अनुमान पनि सरकारले गरेको उनले बताए । सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरुको यथार्थभित्र रहेर अधिकतम् काम गरिराखेको मन्त्री ढकालले दावी गरे । सामथ्र्यअनुसार संक्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको उनको भनाइ छ ।

कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए । उनले अहिले पनि कुल सक्रिय संक्रमितहरुमध्ये ८० प्रतिशत होम आइसोलेसनमा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पष्ट हुने बताए ।

सरकारले अस्पतालहरुमा अक्सिजनसहितका बेडहरुको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको उनको भनाइ छ । यस्तै विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरुलाई पनि भ्याक्सिन दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यान केन्द्रित गरी काम गरिरहेको पनि मन्त्री ढकालले बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ