Rumpum Advertisement
Dazzu

विराटनगरमा डाक्टरलाई दुई महिनामै दोहोरियो कोरोना, पहिलो सामान्य, दोस्रो लक्षण जटिल

विराटनगरमा डाक्टरलाई दुई महिनामै दोहोरियो कोरोना, पहिलो सामान्य, दोस्रो लक्षण जटिल

विराटनगर, ५ मंसिर । विराटनगरमा एक चिकित्सकलाई दुई महिनामै कोरोना संक्रमण दोहोरिएको छ ।

सामान्यता एक पटक संक्रमण भएको ६ महिनासम्म शरिरमा एण्टीबडी रहने अध्ययनले देखाएको छ । तर विराटनगरको एक अस्पतालमा कार्यरत ३२ वर्षीय डाक्टरलाई दुई महिनामा पुनः संक्रमण दोहोरिएको हो ।

ती डाक्टरलाई १८ साउनमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । १४ दिनको आइसोलेशन बसाईपछि संक्रमणमुक्त भएका उनी एक महिनासम्म घरमै बसे ।

तर असोज अन्तिममा उनलाई पुनः लक्षण देखिन थाल्यो । कोरोना जाँच गर्दा ३ कात्तिकमा पोजेटिभ रिपोर्ट आयो ।

पहिलो पटक ठूलो समस्या नभोगेका डाक्टरले दोस्रो संक्रमणमा धेरै गाह्रो भएको बताए । ‘पहिलो संक्रमणमा सामान्य लक्षण देखियो,’ उनले भने, ‘दोस्रो पटक पोजेटिभ रिपोर्ट पछि र अघि धेरै पीडा भयो ।’

दोस्रो पटक संक्रमण पुष्टि भएको १४ दिनपछि उनी संक्रमणमुक्त भए । तर अझैसम्म कमजोर अनुभव भइरहेको उनले बताए ।

फ्रन्टलाइनमा बसेर काम गर्दा पहिलो र दोस्रो संक्रमण कसरी भयो भन्ने उनले थाहा पाउन सकेका छैनन् । पहिलो संक्रमणपछि उच्च सतर्कतासहित काममा फर्किएका उनी दोस्रो संक्रमणको स्रोत नभेटिएको बताउँछन् ।

‘संक्रमणमुक्त भएपछि बाहिरको पानीसमेत खाइनँ । डबल माक्स र पञ्जा प्रयोग गरेँ,’ उनले भने, ‘तर कहाँबाट कसरी सर्‍यो छुट्याउन सकेको छैन,’ पहिलो र दोस्रो संक्रमणमा लक्षण फरक भएकाले भाइरसको आकार पनि फरक भएको उनले बताए ।

विराटनगरमा फरक–फरक भाइरस’

कोरोना भाइरसको पुनः संक्रमणलाई रिइन्फेक्सन भनिन्छ । रिइन्फेक्सन देखिन थालेकाले विराटनगरमा फरक-फरक किसिमका भाइरस रहेको पुष्टि हुने कोशी अस्पताल विराटनगरका फिजिसियन डाक्टर लक्ष्मीनारायण यादव बताउँछन् ।

एउटै किसिमको भाइरसको संक्रमण पुनः नहुने भएकाले विराटनगरमा फरक-फरक भाइरस रहेको उनले बताए । यद्दपि, अध्ययन भने भएको छैन ।

‘एकै किसिमको भाइरस पुनः संक्रमण नहुने अध्ययनले देखाएको छ,’ उनले भने, ‘कोरोना भाइरस फरक-फरक रहेको पुनः संक्रमण भएको घटनाले देखाउँछ ।’

संक्रमणमुक्त भएका चिकित्सक पनि आफूले भोगेको लक्षणका आधारमा भाइरस छुट्टाछुट्टै हुनसक्ने बताउँछन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ