Rumpum Advertisement
Dazzu

हाजार्ड र मिलिटाओ कोरोनामुक्त, रामोस र भरानेको अभाव पूरा हुने जिदानको अपेक्षा

हाजार्ड र मिलिटाओ कोरोनामुक्त, रामोस र भरानेको अभाव पूरा हुने जिदानको अपेक्षा

विराटनगर, ५ मंसिर । स्पेनिस फुटबल क्लब रियल मड्रिडका खेलाडीद्वय इडेन हाजार्ड र इडर मिलिटाओ कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना संक्रमणमुक्त हुँदै हाजार्ड र मिलिटाओ बिहीबार साँझबाट प्रशिक्षणमा फर्किएको रियलले जनाएको छ ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले कोरोना संक्रमणमुक्त भएसँगै हाजार्ड र मिलिटाओलाई भिल्लारियलविरुद्ध खेल्ने टोलीमा समावेश गरेका छन् । रियलले शनिबार भिल्लारियलसँग खेल्दैछ ।

मिलिटाओलाई २ नोभेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको छ दिनपछि हाजार्डलाई कोरोना देखिएको थियो । सोही समय रियलका अर्का खेलाडी क्यासेमिरो संक्रमित बन्न पुगेका थिए ।

क्यासेमिरो बुधबार मात्र कोरोनामुक्त भएका थिए । अब, संक्रमणमुक्त भएसँगै तीनै जना मैदान उत्रिन सक्षम भएका छन् ।

सर्जियो रामोस र राफेल भराने टोलीबाहिर भएको अवस्थामा मिलिटाओको आगमनपछि प्रशिक्षक जिदान खुशी देखिएका छन् ।

जिदानको पहिलो रोजाइका सेन्टर ब्याक रामोस अन्तर्राष्ट्रिय ड्युटीका बेला घाइते हुन पुगेका हुन् । उनले भिल्लारियल, इन्टर मिलान र अल्भेससँगको खेल गुमाउने पक्का भएको छ । भराने पनि फ्रान्सेली टोलीमा रहँदा घाइते भएका हुन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ