birat ribon

छठमा सूर्यलाई अर्घ्य दिन घर–घरमा जलकुण्ड

Neuro
छठमा सूर्यलाई अर्घ्य दिन घर–घरमा जलकुण्ड

यज्ञ अधिकारी

विराटनगर, ४ मंसिर । कोरोना महामारीबाट सुरक्षित रहन श्रद्धालुहरुले छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन घर–घरमा जलकुण्ड निर्माण गरेका छन् ।

cura insider

छठमा सूर्यलाई अर्घ्य दिने समयमा भिडभाड बढी हुने र संक्रमणको जोखिम बढ्ने भएपछि घरघरमा जलकुण्ड निर्माण गरेका हुन् ।

विराटनगर–७ का सन्तोष पूर्वाले आफ्नै घरनजिक जलकुण्ड निर्माण गरेका छन् । आफू र परिवार सुरक्षित रहन घाटमा नगएको उनले बताए । घरअगाडिको खाली जमिनमा जलकुण्ड बनाएका सन्तोष भन्छन्, ‘आफ्नो परिवारका तीन सदस्यले मनाउने गरी जलकुण्ड निर्माण गरेको छु ।’

प्रशासनले समेत सुरक्षित रहेर चाडपर्व मनाउन अनुरोध गरिसकेको छ । घाटमा संक्रमणको जोखिम उच्च रहने भएपछि ब्रतालुका परिवारले मात्र मनाउने गरी जलकुण्ड निर्माण गरिरहेका छन् ।

कतिपय ब्रतालुको आँगन वा छेउछाउमा कुण्ड निर्माण गर्ने जमिनसमेत नभएको अवस्थामा पनि घरमै मनाउने तयारी गरिरहेका छन् । घरमा कुण्ड बनाउने स्थान नभए पनि ठूलो भाडामा पानी थापेर सूर्यको आराधना गर्ने विराटनगरका सुवास कामतले बताए । घरैअगाडि सिंघिया खोला बग्ने भए पनि उनले त्यहाँ नजाने बताए ।

‘खोलामा नजाने, त्यहाँ भिडभाड हुने भएकाले संक्रमणको जोखिम छ,’ उनले भने, ‘धाराबाट ठूलो आरीमा पानी भरेर त्यसैमा उभिएर सूर्यको आराधना गर्ने तयारी गरेका छौं ।’

आफ्नो घरमा कुनै कुण्ड निर्माण गर्न र सूर्यलाई अर्घ्य दिन उपाय नै नहुनेहरुले मात्र घाटमा जाने तयारी गरिरहेका छन् ।

घरमा जलकुण्ड निर्माण गर्ने स्थान नभएकाले खोलामा निर्माण गर्न लागिएको विराटनगरका सञ्जयकुमार कामतले बताए । उनले संक्रमण जोखिम भए पनि स्थान नभएर खोलामा अर्घ्य दिने तयारी गरिएको बताए । आफ्नो परिवारभन्दा बाहिरकोलाई पूजास्थलमा प्रवेश गर्न नदिइने उनले बताए ।

कटहरी–१ की एक ब्रतालु महिलाले सूर्यको आराधना गर्न खोलामा नजाने बताइन् । उनको परिवारले पूजाका लागि आफैं जलकुण्ड निर्माण गरेका छन् । आस्था र विश्वासको छठ पर्व मनाउन अधिकांश श्रद्धालुले सुरक्षित रहने गरी आ–आफ्नो तरिकाले मनाउने तयारी गरिरहेका छन् ।

jackson ribon