Rumpum Advertisement
Dazzu

संक्रमणबाट निको भइसकेकाले पनि भाइरस सार्ने सम्भावना धेरै

संक्रमणबाट निको भइसकेकाले पनि भाइरस सार्ने सम्भावना धेरै

विराटनगर, ४ मंसिर । एक पटक संक्रमण भएर निको हुँदैमा पुनः संक्रमित नहुने र अरूलाई संक्रमण सार्न नसक्ने अवस्था नदेखिएको बताइएको छ ।

कोभिड १९ रोग लागेर निको भएकामा पनि व्यक्ति तथा उमेर समूहअनुसार एन्टीबडी अर्थात् रोगसँग लड्ने क्षमता फरक–फरक हुने गरेको अध्ययनले देखिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाई प्रमुख डा. शेरबहादुर पुनका अनुसार निको भएका मानिसमा एन्टीबडी केही समय रहने भए पनि सक्रिय संक्रमित व्यक्तिसँगको सम्पर्कले तेस्रो व्यक्तिमा रोग सार्न सक्ने सम्भावना रहन्छ ।

सास फेर्दा आफैंमा भाइरस छिरेर सर्नेभन्दा पनि थुकको छिट्टा वा सक्रिय संक्रमितसँग हात मिलाएर अनि अर्को मानिसलाई छोयो भने भाइरस सार्ने सम्भावना बढिरहने उनको भनाइ छ । संक्रमण भएको नौ दिनपछि कुनै व्यक्तिको आरएनए पोजिटिभ देखिए पनि ती आरएनए संक्रमण गर्नेखालको नहुने भाइरोलोजिस्ट डा. लुना भट्ट शर्मा बताउँछिन् ।

संक्रमणबाट निको भएकामा बढीमा दुई महिनासम्म एन्टीबडी रहने अध्ययनबाट देखिएको हुँदा त्यसपछि फेरि संक्रमण हुने सम्भावना रहने भट्टले बताइन् । त्यस्तै जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले संक्रमणबाट निको भएका व्यक्तिमा रोगप्रतिरोधी क्षमताले कति समय काम गर्छ भन्ने निष्कर्ष प्रारम्भिक मात्रै रहेको बताएका छन् ।

उनका अनुसार किंग्स कलेज लन्डनले गरेको अध्ययनले संक्रमण भएर निको भएको ९० दिनपछि एन्टीबडीको गुण र संख्या दुबैमा ह्रास हुँदै जाने देखाएको हुँदा एन्टीबडी तीन महिनाभन्दा बढी समयसम्म नरहने प्रारम्भिक संकेत हो । एक पटक संक्रमित भएर निको भएको भन्दै कोरोना भाइरसविरुद्ध आजीवन प्रतिरोधी क्षमता विकास भएको रूपमा बुझ्न नहुने विज्ञहरूको सुझाव छ ।

निको भए पनि कोरोना भाइरसलाई हल्कारूपमा लिन नहुने तथा मास्क लगाउने, सामाजिक दुरी कायम राख्ने लगायतका जनस्वास्थ्यसम्बन्धी मापदण्ड कडाइँका साथ पालना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ