Rumpum Advertisement

विदेशी मुद्राको प्रमुख स्रोत भनेकै पर्यटन हो : मन्त्री भट्टराई

विदेशी मुद्राको प्रमुख स्रोत भनेकै पर्यटन हो : मन्त्री भट्टराई

झापा, ३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै नेपालमा पर्यटन क्षेत्र भएकाे बताएका छन् ।

झापाको बिर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) शाखाको बुधबार उद्घाटन गर्दै उनले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै नेपालमा पर्यटन क्षेत्र भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

पर्यटन क्षेत्रले वार्षिक रु ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताउँदै उनले भने, “आर्थिक विकासको प्रमुख आधार नै पर्यटन क्षेत्र हो । झापा र प्रदेश नं १ पर्यटनको सम्भावनायुक्त क्षेत्र भएकाले यस क्षेत्रमा सर्वोत्कृष्ट जनशक्ति उत्पादन गर्न यहाँ नाथमको शाखा विस्तार गरेका हौं ।”

मन्त्री भट्टराईले भारतसँग पूर्वी सीमाना जोडिएका मेचीनगर र बिर्तामोड नगरपालिकामा तीन वटा फाइभस्टार होटलसँगै अन्य ठूला होटलसमेत स्थापना भइरहेकाले यहाँ चाहिने दक्ष जनशक्ति उत्पादन गर्न नाथमको तेस्रो शाखा झापामा स्थापना गरेको बताए ।

यसअघि नेपालगञ्ज र महोत्तरीमा शाखा विस्तार भइसकेको बताउँदै मन्त्री भट्टराईले अब आङ्गनमै बसेर प्रदेश नं १ का जनताले होटल मेनेजमेन्ट पढेर पर्यटन क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

सरकारले चाँडै नै विदेशी पर्यटकले नेपाल घुम्न आउँदा अनिवार्य गाइड राख्नुपर्ने नियम बनाउने तयारी गरिरहेको उल्लेख गर्दै उनले पर्यटन क्षेत्रमा ठूलो जनशक्तिको आवश्यक पर्ने बताए । रासस

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ