Rumpum Advertisement
Dazzu

धान किन्न सहकारीले दिएनन् चासो : झापामा नौं सहकारीको छनोट, मोरङमा निवेदन परेन

धान किन्न सहकारीले दिएनन् चासो : झापामा नौं सहकारीको छनोट, मोरङमा निवेदन परेन

विराटनगर, २ मंसिर । सरकारले धानको समर्थन मूल्य तोकेर खरिद गर्नका लागि सहकारीहरुलाई आग्रह गरे पनि सहकारीले चासो देखाएका छैनन् । धानको समर्थन मूल्य तोकेर सहकारीलाई खरिद गर्न आग्रह गरे पनि मोरङमा सहकारीहरुले चासो नदेखाएका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्यन इकाई मोरङले धान खरिदका लागि सूचीकृत हुन सहकारीहरुलाई आग्रह गर्दै सूचना निकालेको थियो । तर कुनै सहकारीले चासो देखाएका छैनन् ।

२१ कात्तिकमा सूचना निकाले पनि हालसम्म कुनै सहकारीले सूचीकृत हुन निवदेन नदिएको इकाईका प्रमुख विनोद मण्डलले जानकारी दिए । ‘हामीले सूचीकृत हुन आह्वानसहित १५ दिने सूचना निकालेका छौं,’ उनले भने, ‘सूचना निकालेपछि ३–४ वटा सहकारीले चासो देखाएका छन् । तर सूचिकृत हुन कुनै सहकारी आएका छैनन् ।’ अझै केही दिन समय भएकाले आउन सक्ने उनले बताए । सहकारीसँग भण्डारण क्षमता नभएका कारण चासो देखाएका हुन् । ‘सहकारीहरुले भण्डार गर्ने क्षमता नभएको गुनासो गर्नु भएको छ,’ उनले भने, ‘हामीले सूचीकृत हुन सहकारीहरुलाई आग्रह गरिरहेका छौं ।’

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । विचौलियाको बिगबिगी कम गर्न सहकारीलाई प्रोत्साहन गर्दै सरकारले मोटा धानको समर्थन मूल्य २ हजार ७ सय ३५ र मोटा मसिनोको २ हजार ८ सय ८५ रुपैयाँ प्रतिक्विन्टल निर्धारण गरेको छ । यसरी धान खरिद गरेका सहकारीले प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान पाउँछन् । अनुदान ब्राण्डिङ, प्याकिङ, ढुवानी र भण्डारणका लागि हो ।
कृषकको उत्पादन सहजरुपमा खरिद गर्नका लागि समन्वय गर्ने जिम्मेवारी सुनसरी, मोरङ र झापाका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्यन इकाईलाई दिइएको छ ।

सहकारीले आफूले खरिद गर्न सक्ने क्षमतासहित सूचीकृत हुनुपर्नेछ । सूचीकृत भएका सहकारीलाई धान खरिद गर्नका लागि इकाई छलफलपछि क्षेत्र तोकिदिने छ ।

झापामा ९ वटा सूचीकृत

झापामा कृषकको धान खरिदका लागि नौंवटा सहकारी सूचीकृत भएका छन् । ती सहकारीलाई धान खरिद गर्नका लागि क्षेत्र पनि ताकिदिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्यन इकाई झापाका प्रमुख रविन्द्र सुवेदीले जानकारी दिए । पहिलो पटक भएकाले धेरै सहकारीहरु सहभागी नभएको उनले बताए ।

‘नौंवटा सहकारीले २५ हजार क्विन्टल धान खरिद गर्ने स्वीकृति लिएका छन्,’ उनले भने, ‘हामीले सबैलाई क्षेत्र पनि तोकिसकेका छौं ।’ सुनसरीमा पनि सहकारीले चासो दिएका छैनन् ।

घाटाको व्यापार गर्न सक्दैनौं

बजार मूल्यभन्दा महँगोमा खरिद गर्नुपर्ने र भोलि बिक्री गर्दा घाटा व्यहोर्नु पर्ने भएकाले सहकारीले धान खरिद गर्न चासो नदेखाएको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल बताउँछन् । ‘बजारमा २२ सय रुपैयाँ प्रतिक्विन्टल धान पाइन्छ,’ उनले भने, ‘सरकारले तोकेको मूल्यमा धान खरिद गर्दा घाटाको व्यापार हुन्छ ।’

राज्यले बजारमा पनि मूल्यमा पनि एकरुपता ल्याउनु पर्ने उनले बताए । ‘अहिले खरिद गरेको धान भोली बिक्रीको ज्ञारेन्टी पनि छैन ।’ उनले भने, ‘सरकारले ११२ रुपैयाँ अनुदान दिन्छु भनेको छ । भण्डारण र अन्य सुविधा पनि दिने हो भने सहकारीले चासो देखाउन सक्छन् ।’ सहकारीले मुनाफा नखोजे पनि घाटाको व्यापार गर्न नसक्ने उनले बताए । खुला सीमा भएका कारण भारतबाट पनि धान भित्रिने भएकाले सरकारले तोकेको मूल्यमा धान खरिद गर्न गाह्रो भएको बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ