Rumpum Advertisement
Dazzu

तिहारको चौथो दिन आज गाई गोरुको पूजा, म्हपूजा पनि आजै

तिहारको चौथो दिन आज गाई गोरुको पूजा, म्हपूजा पनि आजै

विराटनगर, ३० कात्तिक । उज्यालो पर्व तिहारको चौथो दिन आज गाई, गोरुको पूजा गरी मनाइदैछ । आज गोरु जोत्ने हलोको पूजा गरी हली तिहार पर्व मनाइँदैछ ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वास छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले बताए ।

आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ । आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ ।

आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

म्ह पूजा पनि आजै

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउने गरिएको छ । नेवार समुदायका मानिसहरुले भने आज बेलुकी आत्म (म्ह) पूजा गरी मनाउँदैछन् । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो ।

विगत वर्ष जस्तै म्ह पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवतकै दिन आत्म पूजा गर्नेले सोमबार गर्न लागेका हुन् । म्ह पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवतसँग जोड्नु नहुने समितिका सदस्य कीर्तिमदन जोशीले बताए ।

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन शनिबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइयो । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो । लक्ष्मीपूजाको दिन विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ