Rumpum Advertisement
Dazzu

कोरोना महामारीसँगै भित्रिएको तिहारमा बिकेन माटाको भाँडा

कोरोना महामारीसँगै भित्रिएको तिहारमा बिकेन माटाको भाँडा

बबिता लिम्बू

विराटनगर, २९ कात्तिक । झिलिमिली बत्तीको पर्व तिहारमा अन्य वर्षझैं रमझम, रौनक र उत्साह देखिँदैन । कोरोना महामारीले नेपालीहरुको जनजीवन अस्तव्यस्त नबनाई दिएको भए यतिबेला हाट बजारमा दीपावलीमा बालिने दियो, पालालगायत माटाका अन्य भाँडाहरु किनमेल गर्न मानिसको भीड हुन्थ्यो । तर कोरोना कहरका कारण यस वर्ष बजार सुनसान नभए पनि मानिसको चहलपहल गत वर्षको तुलनामा ज्यादै कम छ ।

बजारमा मानिसको चहलपहल कम भएकाले तिहार र छठको समयमा अत्यधिक बिक्री हुने माटाका भाँडाहरुको व्यापार यस वर्ष न्यून छ । अन्य समयमा फाटफुट मात्रै बिक्री हुने माटाका भाँडाहरु तिहार र छठको समयमा ज्यादै बिक्री हुने भए पनि यस वर्ष खासै बिक्री नभएको व्यापारी अर्जुन ठाकुर बताउँछन् ।

‘अघिल्लो वर्षको तुलनामा व्यापारमा मन्दी छाएको छ । भन्ने हो भने व्यापार नै छैन’ ठाकुर भन्छन्, ‘बजारमा मानिसको संख्या कम भएकाले पहिलेको तुलनामा माटाका सामन खरिद गर्ने मानिस पनि थोरै छन् ।’

ठाकुरसँगै छेवैमा व्यापार गर्न बसेकी चन्द्रकलाको अनुभव पनि उस्तै छ । पहिलेको वर्ष तिहार र छठ आउनु केही दिनअघि दैनिक पन्ध्र सयदेखि दुई हजार रुपैयाँ बराबरको माटाका सामग्री बेचेको उनलाई याद छ तर यस वर्ष दैनिक पाँच सयको पनि व्यापार नभएको उनी बताउँछिन् ।

‘तिहार र छठको समयमा माटाका दियो र कलसको व्यापार धेरै हुन्थ्यो तर यस वर्ष त व्यापार नै छैन भन्दा पनि हुन्छ,’ उनी भन्छिन्, ‘अघिल्लो वर्षको तुलना गर्ने हो भने यो साल त एक तिहाई पनि व्यापार भएको छैन ।’

कोरोना संक्रमणले भयावह स्थिति सिर्जना गरेकाले मानिस घरबाट बाहिर निस्किन डराएकाले व्यापार कम भएको व्यापारी चन्द्रसार पण्डित बताउँछन् । उनी आफैैंले दियो, कलस, धुपौरो जस्ता माटाका भाँडाहरु बनाउने भएकाले उनलाई सामान नै नपाइने हो कि भन्ने कुनै डर छैन । तर पर्याप्त मात्रामा सामान बनाएर बजार ल्याउँदासमेत बिक्री नहुँदा उनी खिन्न छन् । पण्डित भन्छन्, ‘अरुले २० रुपैयाँ दर्जन दियो दिन्छन्, म १५ रुपैयाँमा नै दिन्छु तर पनि खरिद गर्ने मानिस नै छैनन् ।’