Rumpum Advertisement
Dazzu

धान मासेर लगाएको किबीबाट मनग्ये आम्दानी

धान मासेर लगाएको किबीबाट मनग्ये आम्दानी

बलेवा, २८ कात्तिक । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेतमा रोपाईं, गोडाई र उठाउने बेला लाग्ने खेतालाको खर्च समेत धान र परालले उठाउन हम्मेहम्मे हुन्थ्यो ।

परम्परागत खेती नै गर्दै आएका उनलाई झण्डै पाँच रोपनी जमीन जोत्न दुई दिन लाग्थ्यो । पछि उनले छोरा महेन्द्रको आग्रहमा घर छेउको त्यस पाखो खेतमा किबी खेती गर्न थाले । वर्षमा एक बाली धान खेती पनि राम्रो नहुने त्यस खेतमा अहिले किबीले लटरम्म फल दिएको छ ।

हिजो धान फल्ने खेतमा किबी लगाउँ भन्दा छोराको आग्रह मान्न हिच्किचाएका भोलानाथ अहिले खेतबाटै धमाधम बिकी बिक्री गरेर पैसा लिन थालेपछि खुशीले गद्गद बनेका छन् ।

पैंयुपाटामा महेन्द्रले तीन वर्ष पहिले करिब रु पाँच लाख खर्चेर ८० बिरुवा भाले पोथी लगाएका छन् । बजारीकरणको समस्या नहोस् भनेर ‘रिजाल कृषि तरकारी तथा फलफूल फर्म’ नाम दिएको कम्पनी छ ।

उनले भने, ‘अहिले झण्डै पाँच क्विन्टल फलेको छ । ६०/६२ बिरुवा मात्रै फल्दा त एकै बर्षमा लगानी उठ्ने देखियो ।” खेतबाटै प्रति किलो ४०० रुपैयाँमा बिक्री भएको भोलानाथ बताउँछन् ।

माटोअनुसारको खेती गर्न नजान्दा खर्चअनुसारको आम्दानी गर्न नसकेको महशुस भोलानाथले गर्न थालेका छन् ।

उनी भन्छन्, “कस्तो राम्रो फलेको, बजार उचित भए त आम्दानी गर्न बिदेश जानु पर्दैन ।” उनको किबी खेतीका लागि कृषि ज्ञान केन्द्र पर्वतले दुई लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो ।

किबीसँगै रिजालले अदुवा, प्याज, लसुन, खुर्सानी, बेसार लगायतका अन्य नगदेबाली समेत लगाएका छन् ।

झ्याल प्रजातीको किवीको रुखमुनि लगाएको नगदे बालीहरूले समेत घर खर्च चलाउने आम्दानी दिने गरेको रिजालले सुनाए । रासस