Rumpum Advertisement

विराटनगरमा अक्सिजनको खपत तीन गुणाले बढ्यो : माग धान्नै मुस्किल

विराटनगरमा अक्सिजनको खपत तीन गुणाले बढ्यो : माग धान्नै मुस्किल

यज्ञ अधिकारी

विराटनगर, २५ कात्तिक । समुदायस्तरमा कोभिड १९ को महामारी फैलिएसँगै अक्सिजनको माग धान्नै मुस्किल पर्न थालेको छ । लक्षणसहितका संक्रमित थपिएसँगै बजारमा अक्सिजन ग्यासको माग पनि अत्यधिक वृद्धि भएको छ । माग बढेका कारण उद्योगहरुलाई धान्नै मुस्किल पर्न थालेको हो ।

दिनरात उत्पादन गर्दा पनि माग पूरा गर्न नसकिएको अक्सिजन उत्पादन गर्ने उद्योगहरुले जनाएका छन् । कोभिड महामारी अघिभन्दा तीन गुणाले माग बढेको उनीहरु बताउँछन् । पहिलेको तुलनामा अस्पतालहरुमा अक्सिजनको माग अत्यधिक बढेको बिक्रेता भाजुरत्न मोटर्सका प्रबन्धक केदार श्रेष्ठले बताए ।

भाजुरत्नले हिमालय अक्सिजन उद्योगले उत्पादन गरेको अक्सिजन बिक्री वितरण गर्दै आएको छ । कोभिड १९ महामारीभन्दा अगाडि मासिक एक सय ५० वटा ६० केजी तौलका अक्सिजन सिलिन्डर बिक्री हुने गरेकोमा अहिले मासिक तीन सयभन्दा बढी सिलिन्डर बिक्री हुने गरेको श्रेष्ठले बताए ।

विराटनगरमा पाँचवटा उद्योगले अक्सिजन उत्पादन गरे पनि माग पूरा गर्न नसकिएको उनले बताए । अक्सिजन उत्पादनमा कुनै समस्या नभए पनि अक्सिजन भर्ने सिलिन्डर सीमित हुँदा मागअनुसार पूरा गर्न नसकिएको उनले बताए । ‘कोरोनाका बिरामीलाई अक्सिजन पहिलो आवश्यकता हुने भएकाले माग धेरै छ,’ उनले भने, ‘विराटनगरमा अक्सिजन उत्पादन गर्ने पाँचवटा उद्योग भए पनि माग पूरा गर्न नसकिएको उनले बताए ।’

खाली भएर आएका सिलिन्डरलाई तत्काल भरेर पठाउने गरेको विनायक अक्सिजन उद्योगकी कर्मचारी तारा अधिकारीले बताइन् । ‘पुराना सिलिन्डर भर्ने काम त हाम्रो उद्योगले रातदिन गरेर गरिरहेको छ,’ उनले भनिन्, ‘नयाँ सिलिन्डर भने हामीले अहिले दिन सकिरहेका छैनौं ।’ अक्सिजन सिलिन्डर थप्न नसक्दा खोज्न आउनेलाई पनि अन्यत्र पठाउन पर्ने अवस्था रहेको उनले बताइन् ।

श्वासप्रश्वास समस्या भएका बिरामी बढेसँगै अक्सिजनको आवश्यकता बढेको कोशी अस्पताल इमेजेन्सी वार्डका स्वास्थ्यकर्मी रघुनन्दन अधिकारीले बताए । उनले पहिलेको तुलनामा ५० प्रतिशतभन्दा बढी अक्सिजनको खपत बढेको बताए । सास फेर्न कठिन हुने बिरामीको चाप बढेसँगै अक्सिजनको खपत बढेको अर्का स्वस्थ्यकर्मी टिका भण्डारीले बताए ।

उद्योगहरुले अक्सिजनका लागि नयाँ सिलिन्डर चीनबाट मगाउने गरेका छन् । सिलिन्डर मगाए पनि तीनचार महिना लाग्ने भएकाले उद्योगीहरुले त्यतातर्फ लगानी गरेका छैनन् । चीनबाट एक कन्टेनर सिलिन्डर मगाउन एक करोड ५० लाखभन्दा बढी खर्च हुने उनीहरुको भनाइ छ ।

विराटनगरमा विनायक अक्सिजन, हिमालय अक्सिजन, दुर्गा अक्सिजन, पाथीभरा अक्सिजन र मारुती अक्सिजन उद्योगले अक्सिजन सप्लाई गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ