Rumpum Advertisement
Dazzu

भक्तपुरमा माटाका भाँडा बनाउन भ्याई–नभ्याई

भक्तपुरमा माटाका भाँडा बनाउन भ्याई–नभ्याई

भक्तपुर, २४ कात्तिक । दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पालादेखि माटाका अन्य भाँडाहरु बनाउन यतिबेला भक्तपुरका प्रजापतिहरुलाई भ्याई–नभ्याई छ ।

तर यस वर्ष कोभिडका कारण माटाका भाँडाको व्यापारमा असर परेको छ । यस्तै माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्तामा प्रजापतिहरु छन् ।

दीपावलीको समय नजिकिँदै आएपछि भक्तपुर नगर, मध्यपुर थिमीका प्रजापति समुदायलाई यतिखेर माटाका पालासहित माटाका भाँडा बनाउन भ्याई–नभ्याई छ । अन्य समयमा माटाका भाँडाहरु फाट्टफुट्ट बिक्री हुने गरेको भए पनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको छ ।

तर यस वर्ष भने निकै कम माग भएको कृष्णश्याम प्रजापतिले बताए । उनले गत वर्ष दैनिक तीन/चार हजारको संख्यामा बिक्री हुने गरेकोमा अहिले आधाभन्दा कम मात्रै बिक्री हुने गरेको बताए ।

तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुकेलगायतका सामानको माग पनि बढी नै हुने गर्छ । तर यस पटक कोभिडका कारण माग घटेको छ ।

माटाको भाँडाको माग घटेकोभन्दा पनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताए । भुक्तपुरका अधिकांश क्षेत्रमा घना बस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो । माटो नपाएकै कारण अवको आठ÷दश वर्षमा पेशा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना पनि देखिएको छ ।

प्रजापति समुदायले अँगाल्दै आएको यो पेशा निकै पुरानो हो । त्यसैले यो पेशालाई बचाइराख्नुपर्ने देखिन्छ । तर परम्परागत पेशालाई बचाउनका लागि आफुहरुले भन्दा सरकारले नै पहल गर्नुपर्ने देखिन्छ ।

आधुनिक प्रविधिको विकास हुँदै गर्दा माटोको भाँडा बनाउनेदेखि पकाउने सबै काममा प्रविधि भित्रिदा सजिलो भएको छ । तर माटो नै नपाउने समस्याले प्रजापति समुदायले अँगाल्दै आएको माटाका भाँडा बनाउने पेशा छिट्टै लोप नहोला भन्न सकिन्न ।