Rumpum Advertisement
Dazzu

विराटनगर महानगरपालिकामा प्राविधिक शिक्षा : तीन विद्यालयमा कक्षा सञ्चालन गरिँदै

विराटनगर महानगरपालिकामा प्राविधिक शिक्षा : तीन विद्यालयमा कक्षा सञ्चालन गरिँदै

विराटनगर, २३ कात्तिक । विराटनगर महानगरपालिकाले सीटीईभीटीईसँग मिलेर बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ । प्राविधिक विषय अध्ययनका लागि विद्यार्थी छनोट गरेको महानगरले तीनवटा विद्यालयमा कक्षा सञ्चालन गर्ने भएको छ ।

पहिलो चरणमा महानगरले जनता नमुना माध्यमिक विद्यालय, आदर्श बालिका माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयमा बहुप्राविधिक विषयको अध्यापन गराइने छ ।

सीटीईभीटीईसँग चारवटा विषयको सम्बन्धन लिइसकेको विराटनगर महानगरपालिकाका शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार सीटीईभीटीईबाट डिप्लोमा इन आर्किटेक्चर इन्जिनियरिङ, डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा सम्बन्धन लिएको हो ।

सिभिल र आर्टिटेक्चर इन्जिनियरिङको विषय जनता नमुना माध्यमिक विद्यालयमा अध्यापन गराइनेछ । जियोमेट्रिक्स र आर्किटेक्चर इन्जिनियरिङको विषय आदर्श बालिका माविमा पठनपाठन गरिने प्रमुख खतिवडाले जानकारी दिए ।

महानगरपालिकाले विद्यार्थीको कोटा र शुल्कसमेत निर्धारण गरेर भर्नाको प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए । भर्नाका लागि इन्ट्रान्स परीक्षापछि रिजल्ट पनि आइसकेको उनले बताए ।
प्रत्येक विषयमा ४८ जनाका दरले १ सय ९२ जना विद्यार्थी महानगरले सञ्चालन गरेको बहु–प्राविधिक शिक्षालयमा पढ्न पाउने छन् ।

तीन वर्षे कोषको वार्षिक ५० हजार रुपैयाँका दरले १ लाख ५० हजार रुपैयाँ शुल्क लाग्नेछ ।

जनता नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक विजयकुमार रौनियारले विद्यालयलाई प्राविधिक शिक्षाको कक्षा सञ्चालन गर्न छनौट भएको बताए । प्राविधिक शिक्षालयको कार्यक्रम नितान्त महानगरपालिकको भएको उनले बताए ।

आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ महानगरपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको हो ।

शिक्षालय सञ्चालनका लागि अस्थायीरुपमा महानगरपालिकाको शिक्षा शाखामा कार्यालय स्थापना गरिएको छ ।

महानगरपालिकाका मेयर भीम पराजुलीले विपन्न नागरिकका लागि सहजरुपमा प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले सीटीईभीटीईसँगको सहकार्यमा बहुप्राविधिक शिक्षालय विराटनगरमा भित्र्याएका थिए ।