Rumpum Advertisement
Dazzu

फेवामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

फेवामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

पोखरा, २३ कात्तिक । कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ ।

गते असोज २ गतेबाट सञ्चालनको अनुमति पाए पनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहलपहल बढिरहेको हो । सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरु तैरिरहेका देख्न सकिने फेवातालमा अहिले दिनकै दुई सयभन्दा बढी पर्यटकहरु रमाउने गरेका छन् ।

विगतभन्दा संख्यात्मक हिसाबले कम भए पनि लकडाउनपछिको अवस्थामा आन्तरिक पर्यटन केही सन्तोषजनक छ । अहिले देशभरिका मठमन्दिर जस्तै फेवातालबीचमा रहेको तालबाराही मन्दिर बन्द छ । यद्यपि डुंगाबाटै मन्दिर परिक्रमा गर्ने आन्तरिक पर्यटकहरुको चहलपहल भने बढ्दो छ ।

विगत वर्षहरुमा दैनिक आठ सयभन्दा बढी आन्तरिक पर्यटकहरु घुम्न पुग्ने फेवातालमा अहिले दुई सय हाराहारीमा पर्यटन आउने गरेका छन् । अहिले फेवातालमा दैनिक ३५ वटा डुंगा सञ्चालनमा छन् । विगतका वर्षहरु जस्तै फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन पोखराका पर्यटन व्यवसायीहरु एकजुट भएका छन् ।

नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर दिन सकेमा बाह्य पर्यटकहरुको आगमन बढ्ने फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले बताए ।

फेवातालमा सयर हुने पर्यटक र अन्य डुंगा चालकहरुले स्वाथ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ । सबैभन्दा महत्वपूर्ण साबुनपानीले हात धुने र मास्क अनिवार्य गरिएको छ । तापक्रम नापेपछि भने लाइफ ज्याकेट दिएर ढुंगामा बस्न दिइने फेवा डुंगा व्यवसायी संमितिले जनाएको छ । प्रयोगमा आइसकेका लाइफ ज्याकेटलाई सेनिटाइजर गरेर पुनःप्रयोगमा ल्याइने गरेको छ । डुंगामा भौतिक दुरी कायम गर्ने गरिएको छ ।