Rumpum Advertisement
Dazzu

ग्रामथानको एकीकृत नमूना बस्ती हस्तान्तरण, घर पाएपछि दंग छन् सुकुम्बासी

ग्रामथानको एकीकृत नमूना बस्ती हस्तान्तरण, घर पाएपछि दंग छन् सुकुम्बासी

विराटनगर, २१ कात्तिक । मोरङ ग्रामथान गाउँपालिका–७ की अमृताकुमारी खवास र उनका श्रीमान् जनमजदूरी गर्छन् । घर निर्माणमा मजदूरको काम गर्ने सुकुम्बासी परिवारको दम्पत्तीको आम्दानीले परिवार चलेको थियो । तर घर बनाउनसक्ने अवस्था थिएन ।

ऐलेनी जग्गामा झुप्रो बनाएर बस्दै आएकी उनले नयाँ घर पाएकी छन् । ग्रामथान गाउँपालिका–७ को एकीकृत नमूना बस्तीमा टिनको छानो भएको पक्की घर पाएकी हुन् । ‘हामी जनमजदूरी गर्छाैं, यस्तो घरमा बस्ने सोचेको थिएनौं,’ उनले भनिन्, ‘नयाँ घर पाउँदा खुशी छौं ।’

प्रमिलाकुमारी चौधरीको परिवार पनि मजदूरी गर्छ । झुप्रोमा बस्दै आएकी उनले नमूना बस्तीमा टिनको छाना लगाएको घर पाएपछि उनी दंग छिन् । प्रमिला र अमृता मात्र होइन नमूना बस्तीमा घर पाएका ३४ परिवार खुशी छन् ।

मोरङ क्षेत्र नम्बर–४ का प्रतिनिधl सभा सदस्य अमनलाल मोदीको अग्रसरतामा दुई वर्षअघि एकीकृत नमूना बस्ती निर्माणको काम थालनी भएको थियो । निर्माणको काम लगभग पूरा भएको नमूना बस्तीमा सुकुम्बासी परिवारले नयाँ घर पाएका हुन् ।

सुनसरी मोरङ सिचाइँ आयोजनाको नहरले टहरा भत्काएपछि नहरको डिलमा बस्दै आएका ग्रमथानका ३४ परिवार बिचल्लीमा परेका थिए । नहरको डिलबाट विस्थापित भएकाहरूलाई नमूना बस्ती निर्माण गरी शुक्रबार हस्तान्तरण गरिएको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले घर सम्बन्धित परिवारलाई हस्तान्तरण गरे । घर हस्तान्तरण गर्दै मुख्यमन्त्री राईले तीन तहको सरकार जनताको साथमा रहेको बताए । विकास निर्माणको कामलाई सरकारले केन्द्रमा राखेको बताउँदै उनले बिपन्न परिवारको उत्थानका लागि सरकारले काम गरिरहेको बताए ।

बस्ती हस्तान्तरण कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले विपन्न तथा पछाडि पारिएका परिवारको जीवनस्तर उकास्नका लागि सरकारले काम गरिएको बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले फुस्रा छानो हटाउने अभियानमा सरकार रहेको र अन्य स्थानमा पनि एकीकृत बस्ती विकासको काम अघि बढाइने बताए ।

प्रतिनिधिसभा सदस्य सांसद मोदीले तीन तहका सरकारको सहकार्यमा विकास निर्माणको काम अघि बढाइएको बताए । आफ्नो निर्वाचन क्षेत्रमा एउटा बस्ती निर्माणको भएको बताउँदै उनले कटहरीमा पनि एकीकृत नमूना बस्ती निर्माणको काम सञ्चालन भइरहेको बताए ।

सांसद मोदीको पहलमा ३ करोड ४ लाख लागतमा एकीकृत नमुना बस्ती निर्माण गरिएको हो । २०७५–७६ मा निर्माण सुरु गरिएको बस्ती निर्माणका लागि सांसद मोदीले स्थानीय पूर्वाधार विकास कार्यक्रम शीर्षकको १ करोड १९ लाख, तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ६७ लाख ९ हजार र ग्रामथान गाउँपालिकाको १ करोड १७ लाख खर्च भएको छ ।

घर बन्यो तर पानी र शौचालय जडान छैन

अट्याच शौचालय र बाथरुमसहितको तीन कोठाको घरमा परिवार बसे पनि खानेपानी, विद्युत र शौचालय जडान भएको छैन । खानेपानी र शौचालय नहुँदा समस्या भएको स्थानीय सन्तोष सरदारले बताए ।

उनका अनुसार घरभित्र शौचालय निर्माण भएपनि हजसम्म पाइप जडान भएको छैन । खानेपानी र विद्युतको पनि समस्या भएको उनले बताए ।

यता, ग्रामथान गाउँपालिका अध्यक्ष शिवनारायण माझीले एक महिनाभित्र शौचालय र खानेपानीको व्यवस्था हुने बताए । नमूना बस्तीमा केही काम बाँकी रहेको बताउँदै उनले चाँडै शौचालय र खानेपानी पनि जडान हुने जानकारी दिए ।

प्रतिक्रिया

Comments are closed.