विराटनगर, १४ कात्तिक । विराटनगरको सहिद रंगशालामा मंसिर भित्र फ्लड लाइट जडान गरिने भएको छ ।
फ्लड लाइट जडानका लागि आवश्यक सामाग्री आइसकेका कारण मंसिर भित्रमा जडान सकिने भएको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले सबै सामाग्री आइपुगेका कारण मंसिर भित्र फ्लड लाइट जडानको काम सकिने जानकारी दिए । रंगशालामा फ्लड लाइट जडानका लागि आवश्यक सामाग्री ल्याएपछि शुक्रबार मन्त्री घिमिरेले अनुगमन पनि गरेका छन् ।

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभि बीच ३२ देखि ३५ मिटरसम्मको उचाइ हुने फ्लड लाइट जडान गर्ने सम्झौता भएको थियो ।
रंगशालाको चार कुनामा फल्ड लाइटका लागि चारवटा पोल गाडिएका छन् । ३३ मिटर अग्लाे प्रत्येक पोलमा १ हजार वाटको २७ वटा बत्ती जडान गरिने छ ।
लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन ढिलो भएका कारण निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको मन्त्री घिमिरेले बताए ।
कोरोनाको संक्रमण रोक्न सरकारले नेपाल र भारतको सीमा सील गरेको कारण कम्पनीले सामग्री ल्याउन नसकेको कार्की बन्धु अमर जेभिका प्रोपाईटर गणेश कार्कीले बताए । उनले ३३ मिटरका मास्ट (पोल) र १०८ वटा लाईट आइसकेकाले एक महिना भित्र काम सक्ने तयारी भएको बताए ।
लकडाउनले भारतबाट आवश्यक निर्माण सामग्री ल्याउन समस्या भएपछि पछिल्लो पटक २८ पुससम्मका लागि काम गर्ने समय थप गरिएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद शाखा प्रमुख कोमल खड्काले बताए ।
मन्त्रालयले फ्लड लाइट जडानका लागि ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको थियो ।