birat ribon

यस वर्षको तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्छ : व्यवसायी

Neuro
यस वर्षको तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्छ : व्यवसायी

काठमाडाैं, १४ कात्तिक । यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ ।

Padelux insider
cura insider

तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ । तर यसवर्ष तिहार अगाडि नै सयपत्री फूल फुलिसक्ने भएकाले मागअनुसार फूल आपूर्ति हुननसक्दा बजार प्रभावित हुने देखिएको छ । तर व्यवसायीहरूले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्ने बताएका छन् ।

अधिकमासका कारण यसवर्षको तिहार झण्डै एक महिना पछाडि धकेलिएको छ । त्यसैले यसपटक तिहारमा फूलको बजार प्रभावित हुने अनुमान गरिएको छ । किसानहरूले लगाएको सयपत्री फूल फुल्ने समयभन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आँकलन गरिएको हो ।

तर पुष्प व्यवसायीहरू भने क्यालेण्डरको आधारमा फूल खेती गरिएकाले नेपाली उत्पादनले नै यसवर्षको मागलाई सहजै धान्ने बताएका छन् । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले अधिकमासका कारण यसपटकको तिहार २०-२२ दिन पछाडि धकेलिएपनि फूलको बजारलाई कुनै असर नपर्ने बताए ।

घरेलु किसानले उत्पादन गरेको फूल तिहार अगाडि नै सुकेर जाने भएपनि व्यवसायिक रूपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकोले तिहारको मागलाई सजिलै धान्ने उनले बताए ।

गत वर्षको तिहारमा २५ लाख माला खपत भएको थियो । जसमध्ये मखमली माला ५ लाख र सयपत्री माला २० लाख रहेको थियो । यस वर्ष भने कोभिड संक्रमणको जोखिमका कारण फूलको माग कम हुने आँकलन गरिएको पनि अध्यक्ष कसजुले बताए ।

यस वर्ष १२ देखि १५ लाख मालाको माग हुने अनुमान गरिएको र सबै मालाको आपूर्ति स्वदेशी उत्पादनबाट हुने उनको भनाइ छ । यस वर्ष फूलको मूल्य भने केही महँगो पर्ने भएको छ । अध्यक्ष कसजुका अनुसार सयपत्री फूलको एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्नसक्ने बताए ।

गत वर्ष सयपत्री फूलको एउटा मालाको मूल्य ५० देखि ६० रुपैयाँ परेको थियो । पुष्प व्यवसायी श्यामसुन्दर प्रजापतिले भने तिहारका लागि लगाइएको सयपत्री फूल फूलिसकेको बताए ।

केही फूल तिहारसम्म काम नलाग्नेगरी सुकिसकेको पनि उनले बताए । चिसो बढ्दै जाँदा फूल झाँगिन नसक्ने र फुलेको फूलसमेत सुक्ने भएकाले तिहारसम्म सयपत्री फूललाई जोगाइराख्न समस्या भएको उनले बताए ।

तिहार पछाडि भएपनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्ने भएकाले बाहिरी मुलुकबाट फूल आयात गर्न नहुने व्यवसायीहरूको भनाइ छ ।

अन्य मुलुकबाट नआउँदा आन्तरिक फूलको मूल्य बढ्छ भन्ने बुझाइले गर्दा आत्मनिर्भर भइसकेको अवस्थामा पनि फूल आयात हुने गरेको व्यवसायीहरूले गुनासो गरेका छन् । गत वर्षको तिहारमा करिब १० लाख फूलका माला भारतबाट आयात भएको थियो ।

jackson ribon