Rumpum Advertisement
Dazzu

‘भिटेन’लाई खोज्दै प्रहरी

‘भिटेन’लाई खोज्दै प्रहरी

काठमाडौं, १३ कात्तिक । प्रहरीले र्‍यापर समीर घिसिङ ‘भिटेन’को खोजी सुरु गरेको छ । अघिल्लो साता सार्वजनिक भएको ‘पारा’ बोलको गीतमा आपत्तिजनक शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी कार्य सुरु गरेको हो ।

नेपाल प्रहरीको मुख्यालयले भिटेनले ल्याएको नयाँ गीतमा प्रयोग गरिएका शब्दबारे अनुसन्धान गर्न साइबर ब्यूरोलाई निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ ।

भिटेनले ल्याएको नयाँ गीत ‘पारा’ मा प्रयोग गरेका शब्दबारे गुनासो आएपछि अनुसन्धानको लागि पत्राचार गरिएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।

गत वर्ष उनलाई ‘हामी यस्तै त हो नि ब्रो’ गीतको विषयमा पक्राउ गरिएको थियो । त्यसक्रममा उनले अब आइन्दा त्यसो नगर्ने प्रतिवद्धता जनाएपछि प्रहरीले छोडेको थियो ।

तर, फेरि पनि त्यस्तै गुनासो आएपछि अनुसन्धान गर्न लागिएको कडायतले बताए ।

अक्टोबर २४ मा सार्वजनिक गरिएको गीतमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै प्रहरीले अनुसन्धान थालेको हो । उक्त गीत युट्युवमा ५ दिनमा १० लाखभन्दा बढीले हेरिसकेका छन् ।

गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दबारे अनुसन्धान गर्दा आवश्यक परे पक्राउसमेत गर्न सकिने प्रवक्ता कडायले बताए ।