Rumpum Advertisement
Dazzu

दसैंपछि काठमाडौं फर्किनेको संख्या घट्यो

दसैंपछि काठमाडौं फर्किनेको संख्या घट्यो

काठमाडाैं, १३ कात्तिक । गत वर्षको दसैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमी देखिएको छ ।

कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरूको दसैं-तिहारको समयमा हुने यात्रुहरूको आवागमनभन्दा यो वर्ष कम देखिएको हो ।

गत वर्ष दसैंअघि उपत्यकाबाट ११, १२ लाखको हाराहारीमा यात्रुहरू बाहिरिने गरेको भएपनि यो वर्ष न्यून संख्यामा यात्रुहरू उपत्यका बाहिरिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार यो वर्ष १ लाखले मात्रै उपत्यका छोडेका छन् ।

लकडाउन र त्यसअघिको अवधिमा अधिकांशले उपत्यका छोडेको र कोभिडका कारण धेरैले यात्रा नगरेकाले यो वर्ष दसैं तिहारका लागि उपत्यका छोड्नेको संख्या न्यून रहेको उनले बताए ।

अहिले दैनिक करिब ५ हजार मान्छेहरू उपत्यका भित्रिरहेकाले बसपार्कलगायत बजार क्षेत्रमा विगतजस्तो भीड नभएको पनि उनले बताए ।

ट्राफिक प्रहरीले अहिले सवारी साधानमा जोर विजोर कायम गर्ने, भौतिक दूरी कायम गराउने, भीडभाड नियन्त्रण गर्ने र बढी भाडा लिने सवारीलाई कारवाही गरिरहेको छ ।

दैनिक ८ वटा टोलीलाई यात्रुको भेषमा खटाएर सार्वजनिक सवारीहरूमा तोकिएभन्दा बढी भाडा लिए-नलिएको अनुगमन गरिरहेको उनले बताए ।

अहिलेसम्म बढी भाडा लिने २ सय १५ वटा सार्वजनिक सवारीलाई कारवाही गरिएको पनि उनले बताए ।

ट्राफिक व्यवस्थापन सँगै सर्वसाधारणलाई कोभिडबाट बचाउने काम पनि ट्राफिक प्रहरीले गरिरहेको छ । उपत्यकामा ६६ ठाउँमा नियमित रूपमा मादक पदार्थ सेवन (मापसे) चेकजाँच भइरहेकोमा अहिले उपत्यका बाहिरिने थप ९ वटा नाकामा समेत चेकजाँचमा कडाई गरिएको प्रमुख ढकालले बताए ।

दसैं अवधिमा ३ हजार १ सय १५ सवारी चालकलाई कारवाही गरिएको बताउँदै प्रमुख एसएसपी ढकालले गत वर्षको दशैंको अवधिको तुलनामा यो वर्ष कम दुर्घटना भएको बताए ।

गत वर्ष दसैं अवधिमा ४ सय ३४ वटा दुर्घटना भएकोमा यो वर्ष ३ सय २० वटा दुर्घटना भएका छन् ।

लकडाउन अघि यो वर्ष दुर्घटनामा परी १ सय ४ जनाले ज्यान गुमाएकामा लकडाउनपछिको अवस्थामा ६४ जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यामा पनि ४० प्रतिशतले कमी आएको उनले बताए ।